कोविंद भारतका नयाँ राष्ट्रपति निर्वाचित

  • 20 जुलाई 2017
रामनाथ कोविंद तस्वीर कपीराइट Prdbihar.gov.in

बिहीबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टिका उम्मेदवार रामनाथ कोविंद भारतका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविंदले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएका छन्।

कोविंद र कुमार दुवै दलित समुदायका हुन्।

कोविंद दलित समुदायबाट भारतको राष्ट्रपति पदमा निर्वाचित हुने दोस्रा व्यक्ति हुन्।

भारतका नयाँ राष्ट्रपति कोविंद को हुन्?

के आर नारायणन दलित समुदायबाट भारतका पहिलो राष्ट्रपति चुनिएका थिए। उनी आफ्नो कार्यकालमा प्रभावशाली मानिएका थिए।

कोविंदलाई भाजपाले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्नुअघि उनका बारेमा धेरैले सुनेका थिएनन्।

उम्मेदवारको रुपमा मनोनित हुँदा उनी बिहार राज्यको राज्यपालको पदमा थिए।

भारतको संविधान अनुसार राष्ट्रपतिको पद आलंकारिक मात्र हो।

राष्ट्रपतिले सरकारलाई सरसल्लाह दिन वा बढीमा कुनै निर्णय पुनर्विचार गर भन्न सम्म सक्छन्। तर यदी सरकारले उनको सल्लाह मानेन भने पनि त्यसमा उनले हस्ताक्षर गर्नै पर्छ।