लुम्बिनी प्रदूषणका कारक उद्योग सार्न आग्रह

  • 21 जुलाई 2017
लुम्बीनी

बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेका कारखानाबाट निस्कने प्रदूषणका कारण सम्पदाहरु जोखिममा परिरहेकाले त्यहाँका उद्योगलाई अन्यत्रै सार्न सरकारलाई आग्रह गरिएको लुम्बिनी विकास कोषका अधिकारीहरुले बताएका छन्।

केही वर्षयता त्यहाँ रहेका सिमेन्ट र स्टील उद्योग अनि इँटा भट्टाबाट निस्कने धूलोका कणले उक्त सम्पदास्थललाई खतरामा पारिरहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य बताउँछन्।

नजिकैको शहर भैरहवालाई लुम्बिनीसँग जोड्ने राजमार्गको किनारमा रहेका रुख र बिरुवाहरु उद्योगबाट निस्केका फोहोरका कारण वर्षभरि नै धुलाम्मे देखिन्छन्।

शाक्य भन्छन्, "लुम्बिनी सम्पदा क्षेत्रलाई प्रदूषणमूक्त पार्न कलकारखाना अन्यत्र सार्नपर्छ, सरकार आफैंले यसका लागि कदमहरु चाल्नुपर्छ।"

औद्योगीकरण

लुम्बिनी क्षेत्र नेपाल भारत सीमाक्षेत्र नजिकै अवस्थित छ।

त्यहाँ रहेको औद्योगिक क्षेत्रमा थुप्रै कलकारखानाहरु सञ्चालनमा रहेका छन्।

अघिल्लो दशकमा सरकारले औद्योगीकरणलाई बढावा दिन त्यस क्षेत्रमा उद्योगहरु खोल्न प्रोत्साहन गर्ने नीति लिएको थियो।

सजिलो पहुँच, उपयुक्त अवस्थिति र विद्युतको उपलब्धता जस्ता कारणले त्यसपछि यस क्षेत्रमा कलकारखाना खोल्ने लहर नै चल्यो।

त्यसैको परिणाम लुम्बीनीको मूल सम्पदा क्षेत्रबाट मात्रै केही किलोमिटर टाढा यतिबेला एक दर्जनभन्दा बढी सिमेन्ट फ्याक्ट्री र इँटा भट्टा सञ्चालनमा रहेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतबाट दवाव आएपछि धेरै पछि सरकारले सम्पदा क्षेत्रको १० किलो मिटरभित्र उद्ययोग खोल्न बन्द गर्ने निर्णय गर्यो।

तर त्यसबेलासम्म ढिला भइसकेको थियो।

खतरनाक

लुम्बिनी सम्पदा क्षेत्रमा प्रदूषणको प्रभाव हाल एकदमै ठूलो चुनौतीका रुपमा देखिएको सदस्य सचिव शाक्य बनाउँछन्।

अध्ययनहरुले पनि लुम्बिनी क्षेत्रमा प्रदूषणको तह अरु स्थानभन्दा उच्च रहेको देखाएको छ।

यो वर्षको शुरुमा विभिन्न ठाउँमा रहेका हावाको गुणस्तर नाप्ने स्टेशनहरुमार्फत गरिएको जाँचले लुम्बिनीमा रहेको वायु प्रदूषणको तह धूलो र धुवाँका कारण बदनाम काठमाण्डूभन्दा बढी देखाएको थियो।

विशेष गरी प्रदूषणको मात्रा हिउँदयाममा बढी हुने गरेको पाइएको छ।

आयुसीएन र राष्ट्र संघीय संस्कृति कोष युनेस्कोले गरेको अर्को अध्ययनले प्रदूषणका कारण लुम्बिनीको विश्व सम्पदा क्षेत्र खतरामा पर्न थालेको देखाएको थियो।

सो अध्ययनमा भनिएको छ,''लुम्बिनी संरक्षित क्षेत्र भित्र भइरहेको कार्बन उत्सर्जनले जैविक विविधतामा जोखिम, स्थानीयवासीको स्वास्थ्यमा समस्या, पुरातात्विक सम्पत्ति, सामाजिक एवं सांस्कृतिक मूल्य मान्यतामा गहन समस्याहरु सिर्जना गराइरहेको छ।"

आयुसीयनले लुम्बिनीमा रहेका तीन स्मारकबारे अध्ययन गरेको थियो।

त्यसक्रममा लुम्बिनीभित्रको पवित्र बगैँचामा हावामा मिसिएका ग्यास र त्यसमा रहेका फोहोर ठोस पदार्थका कारण प्रदूषित भइरहेको पाइएको थियो।

"अशोक स्तम्भ (इशापूर्व २४९ मा राजा अशोकले बुद्ध जन्मेको स्थान प्रमाणित गर्न बनाइदिएको स्तम्भ) बाट संकलन गरिएका नमुनाहरुमा जिप्सीयम, क्यालसाइट, डोलोमाइट र म्याग्नेसाइट धूलोका रुपमा तल थिग्रिएर बसेको पाइएका थिए," इट्लीको युनिभर्सिटी अफ रोमका एक जना पुरात्तवविद् कन्सट्यानटिनो मिउसीले तयार पारेको प्रतिवेदनमा भनिएको छ। "ती सबै यौगिकहरु सिमेण्ट निर्माण चक्रका हिस्साका रुपमा रहेका छन्।"