मिन्दनावमा डिसेम्बरसम्म सैनिक कानून

  • 22 जुलाई 2017
सैनिक तस्वीर कपीराइट AFP

फिलिपिन्सका बहुमत सांसदले द्वन्द्वग्रस्त मिन्दनाव टापुमा सैनिक कानून लागू रहने अवधि थप्ने राष्ट्रपतिको प्रस्तावको पक्षमा मतदान गरेका छन्।

सो क्षेत्रमा इस्लामवादी लडाकुहरुले चलाएको सशस्त्र द्वन्द्व अन्त्य गराउन सेनाले संघर्ष गर्दै आएको छ।

यो सप्ताहन्तमा चलेको संसद्को विशेष सत्रपछि भएको मतदानमा सत्तापक्षको नियन्त्रण रहेको सिनेट र हाउसले राष्ट्रपतिको प्रस्तावलाई बहुमतले अनुमोदन गरेका हुन्।

सैनिक कानून लागू रहने अवधि थप्ने निर्णय उपयुक्त नभएको तर्क गरेका सिनेटको अल्पमत पक्षधर नेताले कुनै दिन फिलिपिन्सका नागरिकहरु सुतेर उठेपछि सैनिक कानून लागू भएको अवस्थामा आफूलाई पाउने टिप्पणी गरेका छन्।

औचित्य

केही सांसदहरुले तनावग्रस्त मारावी शहरमा मात्रै नभइ समग्र मिन्दनाव टापुमा सैनिक कानून लागू रहेने अवधि थपिनुको औचित्यबारे प्रश्न उठाएका छन्।

तस्वीर कपीराइट EPA

तथाकथित इस्लामिक स्टेटसँग सम्बन्ध रहेको भनिएका लडाकुहरुले गत मे महिनायता दक्षिणी मारावी शहरमाथि कब्जा जमाएका छन्।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले द्वन्द्व अन्त्यका लागि सैनिक कानून लागू रहने समयावधि थप्न आवश्यक रहेको बताउँदै आएका छन् भने उनका विपक्षीहरुले उनी थप शक्तिशाली बन्ने एउटा कदम भएको तर्क गरेका छन्।

थप स्वायत्ताको माग गर्दै मिन्डुनाउ टापुमा कैयौँ मुस्लिम विद्रोही समूहहरु सक्रिय छन्।

फिलिपिन्समा सैनिक कानूनलाई निकै संवेदनशील मानिन्छ जुन कानूनको प्रयोग गरी दिवंगत राष्ट्रपति फर्डिनन्ड मार्कोसले कठोर शासन गरेका थिए।

नियन्त्रण

सैनिक कानूनले सेनाको प्रयोगबारे अनुमति दिन्छ र बिना कुनै अभियोग सेनाले लामो समयसम्म मानिसहरुलाई नियन्त्रणमा राख्न पाउँछ।

सैनिक कानून लागू रहने ६० दिने म्याद आजै सकिएको थियो।

तथाकथित इस्लामिक स्टेटसँग सम्बद्ध बन्दुकधारीहरुसँग सेनाको झडप भएपछि गत मे २३ तारिखदेखि सैनिक कानून लागू गरिएको थियो।

समयावधि थपिनुको अर्थ अब उक्त कानून डिसेम्बर ३१ तारिखसम्म लागू रहनेछ।

गत मेमा मारावीमा विद्रोहीहरुबाट प्रहरी अधिकारीहरु मारिएपछि राष्ट्रपति डुटेर्टेल सैनिक कानून लागू रहने समयावधि थपिन सक्ने बताएका थिए।