अमेरिकामा ट्रकभित्र आठजना मृत फेला

  • 23 जुलाई 2017
प्रहरी तस्वीर कपीराइट SAN ANTONIO POLICE DEPARTMENT

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनिओ शहरस्थित एउटा वालमार्टबाहिर पार्क गरिएको ट्रकमा आठजना मृत फेला परेको प्रहरीले जनाएको छ।

अन्य २० जनालाई जटिल वा गम्भीर अवस्थामा फेला पारिएको र उनीहरुलाई स्थानीय अस्पताल पुर्याइएको छ।

उनीहरुमध्ये केहीको शरीरमा पानीको मात्रा निकै कम पाइएको र केहीलाई लू लागेको अधिकारीहरुले बताएका छन्।

उक्त ट्रक कहाँबाट आएको थियो भनी प्रहरीले खुलाएको छैन।

पक्राउ

ट्रक चालकलाई चाहिँ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अमेरिकी अध्यागमन विभागले पीडितहरुको हैसियतबारे थाहा पाउने प्रयास गरिरहेको छ।

उक्त घटनालाई मानव तस्करीसँग जोडेर छानबिन भइरहेको अधिकारीहरुले बताएका छन्।

सान एन्टोनिओ शहर मेक्सिकोको सीमादेखि केही घण्टाको दूरीमा पर्छ।

जीवित

स्थानीय प्रहरी प्रमुख विलियम म्याकमेनसका अनुसार वालमार्टका एक कर्मचारीसँग ट्रकमा रहेका एकजनाले पानी मागेपछि उनले प्रहरीलाई फोन गरेका थिए र प्रहरी आएपछि शव फेला पारिएको थियो।

त्यसपछि जीवितहरुको उद्धारका लागि थुप्रै सवारी साधनहरु घटनास्थल पुगेको भिडिओ फूटेजमा देखिन्छ।

म्याकमेनसले भने, "हामीले मानव तस्करीसम्बन्धी अपराधसँग जोडेर यसलाई हेरिरहेका छौँ।"

ट्रकमा रहेका केही मानिसहरु भागेर नजिकैको जंगलमा गएको हुन सक्ने अनुमान गरिएको छ।

एकजना अधिकारीले पीडितमध्ये दुईजना विद्यालय जाने उमेरका भएको बताएका छन्।