पवित्रस्थलको प्रवेशद्वारमा क्यामेरा जडान

  • 23 जुलाई 2017
सुरक्षा तस्वीर कपीराइट Reuters

इजरेलले जेरुसलेमको पुरानो शहरस्थित अल-अक्सा मस्जिद परिसरको प्रवेशद्वारमा क्यामेराहरु जडान गरेको छ।

मुस्लिमहरुले हरम अल-शरीफ र यहुदीहरुले टेम्पल माउण्ट नामले चिन्ने सो पवित्रस्थलको सुरक्षाका लागि चालिएका कदमलाई लिएर तनाव बढिरहेका बेला प्रवेशद्वारमा क्यामेराहरु जडान गरिएको खबर सार्वजनिक भएको छ।

अरब इजरेली बन्दुकधारीहरुको आक्रमणमा आफ्ना दुईजना प्रहरी मारिएपछि इजरेलले अल-अक्सा मस्जिद परिसरको प्रवेशद्वारमा मेटल डिटेक्टर जडान गरेको थियो।

प्यालेस्टिनीहरुले त्यसको चर्को विरोध गर्दै आएका छन्।

नियन्त्रण

त्यसलाई उनीहरुले उक्त पवित्रस्थलमाथि नियन्त्रण बढाउँदै लैजाने इजरेली कदमका रुपमा लिने गरेका छन्।

उक्त कदमको विरोधमा भएका प्रदर्शनले हिंसातर्फ डोर्याएका छन्।

तस्वीर कपीराइट Reuters

प्रवेशद्वारमा अहिले सुरक्षा क्यामेरा जडान गर्नुलाई इजरेली सञ्चारमाध्यमले मेटल डिटेक्टर हटाउने तयारीका रुपमा अर्थ्याएका छन्।

क्यामेरा जडान गरिएकोबारे प्यालेस्टिनी अधिकारीहरुबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

यसअघि एक उच्च इजरेली अधिकारीले मेटल डिटेक्टरको विकल्प खोज्न सकिने बताएका थिए।

सुझाव

उनले त्यसबारे सुझाव दिन मुस्लिम मुलुकहरुलाई आग्रह समेत गरेका थिए।

बीबीसी अरेबिकसँग कुरा गर्दै ती अधिकारीले भने, "हामीलाई आशा छ जोर्डन र अरु अरब मुलुकहरुले यो समस्याको समाधानका निम्ति विकल्प सुझाउने छन्। तर त्यो विद्युतीय हुनुपर्छ, आधुनिक प्रविधिको प्रयोग गर्ने हुनुपर्छ। त्यस्तो जुनसुकै हल स्वीकार्न इजरेल तयार छ। हामीलाई सुरक्षासम्बन्धी हल चाहिएको हो, राजनीतिक वा धार्मिक होइन।"

प्यालेस्टिनीहरु र इजरेली सुरक्षाकर्मीबीच शनिबार फेरि भिडन्तहरु भएका छन्।

पछिल्ला दुई दिन गरिएका प्रदर्शनका क्रममा कम्तीमा चारजना प्यालेस्टिनीहरु मारिएका छन्।

जारी हिंसा अन्त्यका उपायबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक सोमबार बस्दैछ।