ऐतिहासिक बस्तीलाई थप सहयोगको प्रतिबद्धता

  • 24 जुलाई 2017
खोकना

भूकम्पका कारण क्षतिग्रस्त पुरातात्विक महत्वका प्राचीन र ऐतिहासिक बस्तीलाई परम्परागत ढाँचामै दुरुस्त तुल्याउन विशेष आर्थिक र प्राविधिक सहयोगको प्याकेज घोषणा गरिएको अधिकारीहरुले बताएका छन्।

पर्यटनको केन्द्र समेत रहेका त्यस्ता बस्ती काठमाण्डू उपत्यकामा र बाहिर गरी झण्डै ५० वटा जति रहेको प्राधिकरणले जनाएको छ।

त्यस्ता बस्तीको जगेर्ना अनिवार्य रहेको भन्दै पुरातत्व विभागले त्यो काम तत्काल शुरु गर्नुपर्ने औंल्याए।

प्राचीन बस्तीका घर र राणकालीन दरबारको पुनर्निर्माण र सबलीकरणले गति लिन सकेको थिएन।

अग्रसर

संरक्षणविद्, पुरातत्वविद् र संरचनाविज्ञ इन्जिनियरले आइतवार दिएको सुझावका आधारमा त्यसलाई गति दिन प्राधिकरण अग्रसर भएको छ।

पुरातात्विक सम्पदासँगै त्यस क्षेत्रका पुराना बस्तीका निजी घर पनि हुबहु देखिने गरी र सकेसम्म पुरानै सामानको प्रयोग गरेर पुनर्निर्माण गरिने राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्तर्गत सम्पदा हेर्ने अधिकारी भीष्म बास्कोटाले बताएका छन्।

उनले भने, ''सम्पदासँगसँगै बनेका निजी घरहरुको पुनर्निर्माण पनि मौलिक रुपमा परम्परागत शैली र स्वरुपमै बन्नुपर्छ भन्ने हिसाबले त्यस्ता समुदायमा बसोबास गर्ने व्यक्तिहरुको निजी घरको पुनर्निर्माण गर्दा प्रोत्साहन गर्नका लागि राज्यका तर्फबाट सेवा सुविधाहरु दिने भन्ने कुराले चाँडै नै गति लिन्छ।''

पुनर्निर्माणका लागि पर्याप्त बजेट छुट्ट्याएपनि सम्पदास्थलमा रहेका पुरातात्विक महत्वका प्राचीन भवनको पुनर्निर्माणले गति लिन नसकेको प्राधिकरणका अधिकारी स्वीकार गर्छन्।

सहुलियत

अब तिनको पुनर्निर्माणमा प्रयोग हुने इँटा खरिद, झ्यालढोकाको डिजाइन, काठ खरिद तथा नक्सापासमा विशेष सहुलियतको व्यवस्था गरिने प्राधिकरण र पुरातत्व विभागले जनाएका छन्।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ''पुरातत्व विभागको सहमति लिएर ती बस्तीलाई दुरुस्तै बनाउनुपर्छ। तिनीहरुलाई कलात्मक झ्यालढोका खरिद गर्न, बनाउन सहजरुपमा सिफारिस गरिदिने व्यवस्था गरिनुपर्छ र तिनीहरुलाई राज्यले केही न केही विशेष राहत दिनुपर्छ भन्ने हाम्रो मान्यता हो।''

उपत्यकाका नेवारबस्ती, पर्यटकीय आकर्षणको बस्ती साँखु, विश्व सम्पदा सूचीमा रहेको खोकनाका साथै गोरखा, नुवाकोट, दोलखा लगायतका जिल्लामा करिब ५० वटा ऐतिहासिक महत्त्वका बस्ती छन्।

भूकम्प प्रभावित १४ जिल्लामा ७ सय ५० सम्पदामा क्षति भएकोमा हालसम्म करिब ३० वटा सम्पदाको पुनर्निर्माण भइसकेको र १११ वटा पुनर्निर्माणको क्रममा रहेको बताइएको छ।