'रुसविरोधी विधेयकप्रति समर्थन छ'

  • 24 जुलाई 2017
पुटिन र ट्रम्प तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपतीय चुनावमा भएका भनिएका हस्तक्षेपलाई लिएर रुसविरुद्ध कारबाही गरिनुपर्ने आवाजहरु उठिरहेको बेला रुसविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गर्दै नयाँ विधेयक ल्याइएको हो।

ह्वाइट् हाउस्‌ले रुसविरुद्ध प्रतिबन्धहरु लगाउने विषयमा अमेरिकी कंग्रेसका दुवै पक्षबीच भएको सहमतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन गर्ने बताएको छ।

ह्वाइट् हाउस‌्की एक प्रेस अधिकारी सराह सराह हुकाबी-स्यान्डर्सले ट्रम्प प्रशासनले त्यसबारेको विधेयकको प्रारम्भिक मस्यौदाका केही शब्दप्रति शुरुमा आपत्ति जनाइएको भएपनि अन्तिम खाकाप्रति कुनै समस्या नरहेको बताइन्।

गत वर्षको राष्ट्रपतीय चुनावमा गरिएका भनिएका रुसी हस्तक्षेपलाई लिएर उविरुद्ध कारबाही गरिनुपर्ने आवाजहरु उठिरहेको बेला रुसविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गर्दै नयाँ विधेयकमाथि छलफल भइरहेको हो।

सो विधेयकप्रति अमेरिकी कंग्रेसका दुवै पक्षको समर्थन प्राप्त छ।

यसअघि सो विधेयकलाई ह्वाइट् हाउस्‌ले समर्थन गर्ला कि नगर्ला भन्नेबारे संशय देखिएको थियो।

'प्रतिबन्ध'

तर ह्वाइट् हाउस्‌की प्रेस अधिकारी सराह हुकाबी-स्यान्डर्सले सो विधेयकबारे अहिले कुनै समस्या नरहेको बताइन्। उनले रुसी हस्तक्षेपको प्रसंगमा केही बोलिनन्।

बरु उनले युक्रेनको अवस्थामा पूरै सुधार नभएसम्म रुसविरुद्ध प्रतिबन्ध लगाइराख्नु पर्ने पक्षमा ह्वाइट् हाउस् रहेको बताइन्।

राष्ट्रपतीय चुनावमा भएको भनिएको हस्तक्षेपलाई लिएर रुसविरुद्ध कारबाही गर्नु पर्ने पक्षमा वासिङटनमा लगातार आवाजहरु उठिरहेका छन्।

नयाँ विधेयकमा मस्कोविरुद्ध चालिने कुटनैतिक कदममा राष्ट्रपतिको एकाधिकार तोड्ने प्रस्ताव गरिएको छ।

सो विधेयकमाथि अमेरिकी प्रतिनिधि सभामा मंगलबार मतदान हुने कार्यक्रम छ।