डा. केसीका माग कति पूरा, कति बाँकी?

  • 24 जुलाई 2017
केसी

चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले विगतमा आफूसँग गरिएका अधिकांश सहमतिहरु कार्यान्वयन नभएको भन्दै सोमवारदेखि पुन: अनशन शुरु गरेपनि शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले उनले उठाएका कतिपय माग पूरा भइसकेको र केही प्रक्रियामा रहेको बताएका छन्।

डा. केसीले आफूहरुले दिएको सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग गठन नभएसम्म सबै तहको शुल्क सरकारले निर्धारण गर्नुपर्ने लगायतका माग राखेका छन्।

तिनै मागहरु उठाएर उनी अनशन बसेको यो एघारौं पटक हो।

चिकित्सा शिक्षामा देखिएका बेथिति अन्त्यको माग गर्दै डा. केसीले पहिलोपटक २०६९ साल असार २१ देखि २४ गतेसम्म चार दिन अनशन बसेका थिए।

निराशाजनक

त्यसयता उनी १० पटक अनशन बसिसकेका छन्।

र, उनका सहयोगीहरुका अनुसार हरेक अनशन सरकारसँगको सहमतिमा टुंगिए पनि सहमति कार्यान्वयनको स्थिति निराशाजनक छ।

डा. केसीको अभियानमा सक्रिय रुपमा सहभागी हुँदै आएका डा. जीवन क्षेत्रीले भने, "खासगरी उपलब्धिलाई संस्थागत गर्ने, नीतिगत परिवर्तन ल्याउने जुन कुराहरु थिए त्यसमा कुनै प्रगति नभएकै हो। सबैभन्दा ठूलो व्यवधान चिकित्सा शिक्षा ऐन अगाडि नबढ्नु नै हो।"

सो ऐनलाई समग्र चिकित्सा शिक्षा सुधारका निम्ति एउटा महत्त्वपूर्ण पाटोको रुपमा डा. केसी र उनका समर्थकहरुले लिने गरेका छन्।

र, हालसम्म संसद्बाट त्यो पारित नहुनुमा राजनीतिक दल र सरकारी पक्षको उपेक्षालाई उनीहरुले जिम्मेवार ठान्ने गरेका छन्।

तर सरकारी अधिकारीहरु उक्त आरोप स्वीकार्दैनन्।

समस्या

शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ भन्छन्, डा. गोविन्द केसीसँग सहमति गरेर सरकार चुप लागेर बसेको कदापि होइन।

उनले थपे, "संसदीय प्रक्रियामा आजको भोलि ऐन बन्दैन, दुई-चार महिना लाग्छ। तर हामीले यसलाई छिट्टो बढाउनका लागि घचघच्याइसकेका छौँ।"

त्यसबाहेक डा. केसीसँग सरकारले गरेको सहमति अनुसार अनुगमन समिति, न्यायिक समिति र पदाधिकारीको नियुक्तिका लागि मापदण्ड निर्धारण समिति गठन भइसकेको सचिव श्रेष्ठले बताए।

प्रत्येक प्रदेशमा कम्तीमा एक/एकवटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने जस्ता माग पूरा हुन समय लाग्ने भएकोले त्यसलाई डा. केसीले पनि बुझिदिनुपर्ने सरकारी अधिकारीहरुको आग्रह छ।

विगतका सहमतिभन्दा डा. केसीले कतिपय नयाँ माग थपिदिंदा पनि सम्बोधनमा समस्या हुने गरेको उनीहरुको गुनासो छ।

तर डा. केसीको आन्दोलनमा सघाउँदै आएकाहरु भन्छन्, सरकारले पुराना सबै मागहरु पूरा गरिदिएको भए मात्र ऊसँग नयाँ मागबारे गुनासो गर्ने नैतिक आधार हुन्थ्यो।