चीनका उदाउँदा एक नेता कारबाहीमा

  • 24 जुलाई 2017
सुन जंगसाइ तस्वीर कपीराइट Reuters

चीनका भ्रष्टाचार विरोधी निकायका अधिकारीहरुले चीनको एक विशाल शहर चोंगचिंगका पूर्व कम्युनिष्ट पार्टि सचिवमाथि अनुशासन तोडेका गम्भीर आरोपबारे छानबिन भइरहेको बताएका छन्।

सुन जंगसाइ केही समय अघिसम्म एक उदाउँदा नेताका रुपमा चिनिन्थे।

यही शरद याममा हुने एक महत्वपूर्ण पार्टि बैठक अगाडि चीनमा राजनीतिक तनाव बढिरहेका छन्।

दाबेदार

गत साता अचानक सुन जंगसाइलाई पदबाट हटाइनु अघिसम्म उनी चीनको शासन गर्ने शक्तिशाली सात सदस्यीय समितिका निम्ति एक प्रबल दाबेदार मानिएका थिए।

तर अहिले चीनको भ्रष्टाचार विरोधी निकायले उनीमाथि अनुशासन तोडेको गम्भीर विषयमा छानबिन भइरहेको जनाएको छ।

कम्युनिष्ट पार्टिको आउँदो महत्वपूर्ण बैठकमा वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीका उत्तराधिकारी को होलान् भन्ने थाहा लाग्न सक्थ्यो।

परम्परागत रुपमा १० वर्ष सत्तामा रहेपश्चात सन् २०२२ मा वर्तमान राष्ट्रपति र प्रधानमन्त्री पदबाट हट्ने ठानिन्छ।

कान्छा

सुन २५ सदस्यीय पोलिटब्युरोका सबभन्दा कान्छा सदस्य हुन्।

पोलिटब्युरोभन्दा माथि सात सदस्यीय स्थायी समिति मात्र रहन्छ।

चोंगचींगकै पार्टि प्रमुख बो शिलाइ पछि यसरी छानबिनमा तानिने उनी पहिलो पोलिटब्युरो सदस्य हुन्।

एक ब्रिटिश व्यापारीको हत्याकाण्डमा मुछिएका बो शिलाइ सन् २०१३ मा भ्रष्टाचारकै आरोपमा जेल परेका थिए।

सुन जंगसाइको ठाउँमा चुंगचींगमा राष्ट्रपति सी जिनपिंगका निकट एक नेतालाई नियुक्त गरिएको छ।

विश्लेषण

सन् २०१२ मा सत्तामा आएलगत्तै राष्ट्रपति सीले भ्रष्टाचार विरुद्ध व्यापक कारबाही थाले।

उक्त कारबाहीमा थुप्रै वरिष्ठ अधिकारीहरु परेका थिए।

सम्वाददाताहरु भन्छन् राष्ट्रपति सीले उक्त कारबाहीलाई आगामी पार्टि बैठक अगाडी आफ्नो शक्ति बढाउन प्रयोग गरेको विश्वास गरिन्छ।

सम्वाददाता सिलिया ह्याटन भन्छिन् हाल चीनमा विश्वकै सबभन्दा महत्वपूर्ण मध्येको निर्वाचन बन्द कोठाभित्र हुँदैछ।

केही महिनाभित्रै चीनले नयाँ पुस्ताका नेताहरु अगाडी सार्ने ठानिन्छ।

गत साता सम्म सुन जंगसाइ पनि सोही कोटीका नेतामा पर्ने ठानिएको थियो। तर अचानक उनले आफ्नो पद गुमाए र अब उनी छानबिनमा परेका छन्।

केही साता अगाडि उनले सार्वजनिक रुपमै राष्ट्रपति सी प्रति आफ्नो बफादारिता दर्शाएका थिए। शायद राष्ट्रपति सी ले उनको बफादारितामाथि प्रश्न गरे वा अरु नै केही राजनीतिक षडयन्त्र भयो जसले उनको यो हालत भयो।

वास्तविक कारणहरु पर्दा पछाडी नै रहेका छन् भन्दै सम्वाददाता ह्याटन थप्छिन्, 'दुई कुरा भने प्रष्ट भएको छ।'

एक, नेतृत्वको होड सोचेको जस्तो सरल छैन। अर्को, चीनको राजनीतिमा आधिकारिक रुपमा केही घोषणा नभएसम्म जे पनि हुन सक्छ।