कुश्नरद्वारा रुससँग सहकार्य गरेको अस्वीकार

  • 24 जुलाई 2017
कुश्नर तस्वीर कपीराइट EPA

सिनेटमा उपस्थित हुनुअघि जारेड कुश्नरले एउटा लिखित वक्तव्य जारी गर्दै रुसीहरुसँग अनुचित सम्बन्ध नराखेको र आफ्नो व्यापारमा रुसी लगानी प्रयोग नगरेको बताएका छन्।

दुवै सदन र एउटा विशेष कमिटीले गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपमाथि अनुसन्धान गर्दैछन्।

३६ वर्षीय कुश्नर राष्ट्रपति ट्रम्पकी छोरी इभांकाका श्रीमान् र राष्ट्रपतिका वरिष्ठ सल्लाहकार हुन्।

कुश्नरले आफू अनुसन्धानकर्ताहरुसँग खुशीका साथ जानकारी बाँड्न तयार रहेको र आफूले लुकाउने कुरा केही नभएको बताएका छन्।

स्वीकार

तर उनले सिनेटमा भनेका कुराहरुको अभिलेख राखिनेछ र पछि उनीविरुद्ध प्रयोग गर्न सकिनेछ।

उनले चुनावी अभियानका क्रममा 'शायद चार पटक' रुसी प्रतिनिधिहरुसँग सम्पर्क राखेको बताएका छन्।

गत वर्षको जुन महिनामा रुसी वकिल नातालिया भेसेल्नित्स्कायासँग भेटेको भने उनले स्वीकार गरेका छन्।

ती वकिलले हिलरी क्लिण्टनको अभियानलाई क्षति पुयाउने सामाग्री दिने वाचा गरेको बताइएको छ।

कुश्नरले आफू त्यो बैठकमा ढिलो पुगेको र त्यहाँ खासै महत्त्वपूर्ण कुरामाथि छलफल नभएको थाहा पाएपछि आफूले समय बर्बाद गरेको जस्तो लागेको बताएका छन्।

सावधान

बीबीसीका उत्तर अमेरिका संवाददाता एण्टोनी जर्करका अनुसार त्यस्तो वक्तव्य जारी गरेर कुश्नरले सावधानी अपनाउन खोजिरहेका छन्।

तस्वीर कपीराइट EPA

उनले सार्वजनिक भइसकेका विवादलाई मात्रै सम्बोधन गरेका छन् र ती विवाद किन महत्त्वपूर्ण छैनन् भनेर आफ्नो धारणा राखेका छन्।

दिनमा सयौं इमेल पाउने गरेको भन्दै उनले रसी वकिलसँगको भेटघाटका बारेमा ट्रम्पका छोराले पठाउको इमेलको विवरण नपढेको बताएका छन्।

चुनावपछि रुसीहरुसँग सम्पर्क गर्ने बाटो बनाउने प्रयासलाई उनले रुसी जनरलहरुबाट सिरियाको बारेमा जानकारी लिने प्रयास भनेका छन्।

रुसी राजदूतको दवावमा आएर मात्रै आफूले एकजना प्रभावशाली रुसी ब्यांकरसँग भेटेको दावी गरेका छन्।

जटिलता

उनले नयाँ कुरा केही बताएका छैनन्।

तर उनले रुसीहरुसँगका ती सम्पर्कबारे शुरुमै नखुलाएकोमा सिनेटमा कडा प्रश्नको सामना गर्न सक्छन्।

तर उनले आफ्ना एक सहयोगीले त्यससम्बन्धी फारम चाँडै बुझाएकोले यी सबै कुराहरु पहिल्यै खुलाउन नपाएको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार रुससँग सहकार्य गरेको अस्वीकार गरेका छन् भने रुसले पनि आफू संलग्न नभएको बताएको छ।