इजरेलद्वारा ‘मेटल डिटेक्टर’ हटाउने निर्णय

  • 25 जुलाई 2017
इजरेल तस्वीर कपीराइट Reuters

इजरेलको सुरक्षा क्याबिनेटले जेरुसलेममा रहेको एउटा पवित्र तीर्थस्थलमा जडान गरिएका धातु पहिचान गर्ने 'मेटल डिटेक्टर' भनिने मेसिनहरु त्यहाँबाट हटाउने निर्णय गरेको छ।

उक्त पवित्र तीर्थस्थललाई मुसलमानहरुले हरम अल सरिफ र यहुदीहरुले 'टेम्पल माउन्ट' भन्ने गर्छन्।

अधिकारीहरुले बाधा नपुग्ने किसिमले त्यहाँ अर्को निगरानी प्रणाली स्थापना गरिने बताएका छन्।

दुई जना प्रहरी उक्त तीर्थस्थल नजिकै मारिएपछि उक्त सुरक्षा प्रणाली अवलम्बन गरिएको थियो।

द्वन्द्व

तर त्यसले प्यालेस्टिनीहरुलाई आक्रोशित बनाउनका साथै हिंसात्मक द्वन्द्व निम्त्याएको थियो।

तस्वीर कपीराइट Reuters

यसअघि मध्यपूर्वका लागि राष्ट्रसंघीय दूत निकोले म्लाडेनोफले आगामी शुक्रबारको मुसलमान प्रार्थना अघि नै उक्त तनाव समाधान गर्न आग्रह गरेका थिए।

त्यसो गर्न नसकिए पुरै इस्लाम विश्वले भयावह मूल्य चुकाउनुपर्ने खालको परिणाम भोग्नुपर्ने हुनसक्ने उनले चेतावनी दिएका थिए।

अपेक्षा

पछिल्लो कदमले मुसलमान र यहुदीहरुबीचको तनाव कम गर्नसक्ने ठानिएको छ।

यसै महिनाको सुरुमा सुरक्षा गार्डको रुपमा खटिएका दुई प्रहरीलाई बन्दुकधारीहरुले गोली हानेर हत्या गरिएपछि 'मेटल डिटेक्टर'हरु जडान गरिएका थिए।

अधिकारीहरुले बन्दुकधारीहरुले तस्करी गरेर आफ्ना हतियार तीर्थस्थल भित्र प्रवेश गराएकाले उक्त व्यवस्था लागु गरिएको बताएका थिए।

तर उक्त निर्णयले हिंसालाई बल पुर्‍यायो र शुक्रबार भएका झडपमा ३ जना प्यालेस्टिनीले ज्यान गुमाएका थिए।