तापमान वृद्धि: खाद्य सुरक्षाको चिन्ता

  • 25 जुलाई 2017
सुदूर पश्चिम नेपाल
Image caption सुदूर पश्चिम नेपालमा पनि बालीनालीमा तापमान वृद्धिका असर तीव्र भइरहेको अधिकारीहरुले बताएका छन्।

वर्षेनी औसत तापक्रम बढ्नाले नेपालका विभिन्न स्थानको मौसम प्रभावित भई बोटबिरुवा र फलफूलको बाली चक्र फेरिंदै गएको भन्दै त्यसले निर्भरतामुखी कृषकहरुको खाद्य सुरक्षामा संकट पर्न सक्ने चेतावनी कृषि विज्ञहरुले दिएका छन्।

आँप नफल्ने ठाउँमा फल्न थालेको तथा स्याउ फल्ने ठाउँमा नफल्ने जस्ता जलवायु परिवर्तनका विविध प्रभाव किसानहरुले बेहोर्न परिरहेको अधिकारीहरुले जनाएका छन्।

हाल नेपालको औसत तापक्रम वर्षेनी ०.०५६ डिग्री सेल्सियस्‌ले बढ्दै गएकोले त्यसको असर देखा पर्न थालेको कृषि विकास मन्त्रालयले जनाएको छ।

पश्चिम नेपालको अछाममा केही वर्षयता स्वाभाविक मानिने समयभन्दा अघिपछि नै फलफूल पाक्न थालेको त्यहाँका किसानहरुको अनुभव छ।

परिवर्तन

स्थानीय शिक्षक शकुन्तला औजीको भनाइमा यो वर्ष पनि थुप्रै किसिमका फलफूल साबिकभन्दा अघि नै पाकेको थियो।

उनले भनिन्, "यहाँको तिरखुला भन्ने साना दाना भएको फल यसपाली कहिले फल्यो थाहै भएन। कुनै फल छिटो पाक्ने कोही नपाकेर ढिलो पाक्ने भएको छ।"

छेउको पहाडी जिल्ला डोटीमा भने थुप्रै वर्षदेखि जाडो याममा हुने केही फलफूल फाप्न छोडेपछि स्याउका केही प्रजाती नरोप्ने सिफारिस समेत गर्न थालिएको जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तपेन्द्रबहादुर शाहले बताउछन्।

उनको भनाई छ, "निकै चिसोमा फल्ने प्रकारका स्याउ उत्पादन गर्न चाहिँ अब गाह्रो भईसक्यो। पहिला पहिला यसको माथिल्लो भेगमा खेती हुन्थ्यो। अब त्यसको ठाँउमा ओखर लगाइएको छ। पहाडी भेक भएपनि आँपलाई भने प्राथमिकता दिएका छौं।"

औसत तापक्रम बढ्दा गर्मी ठाउँमा हुने बोटबिरुवा पनि विगतमा तुलनात्मक रुपमा चिसो मानिने ठाउँमा समेत लगाउने क्रम देशभर नै देखिन थालेको कृषि विकास मन्त्रालयले जनाएको छ।

खाद्य सुरक्षा, कृषि व्यवसाय प्रवर्द्धन तथा वातावरण महाशाखाका प्रमुख सुरेशबाबु तिवारी भन्छन्, "गोर्खाबाट प्राप्त एउटा रिपोर्ट अनुसार १५ सय मिटर उचाई सम्म धान खेती हुन थालेको छ। जुन विगतमा हुँदैनथ्यो। पहिला मुस्ताङको लेटेमा स्याउ हुन्थ्यो। अहिले तापक्रम नपुग्दा बोट सुक्न थालेको छ।"

वृद्धिदर

नेपालको औसत तापमान वृद्धिदर संसारको ‌औसतभन्दा करीब दुइ गुणा बढी भएको बताइन्छ। विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानले नेपाल जलवायु परिर्वतनका कारण अति जोखिममा रहेका प्रमुख देश मध्येको एक भएको देखाएको छ।

यस्तो वातावरणीय परिवर्तनले कृषिमै आधारित भएर हातमुख जोर्ने सामान्य कृषकको जीवनमा कस्तो असर परिरहेको छ?

तिवारी भन्छन्, "भइरहेको बाली नहुने, किराहरु प्रकोपको रुपमा आउने पाइएको छ।"

तापमान वृद्धिका कारण स्थानीय जलवायुमा देखिएका परिवर्तन र त्यसले कृषिमा पारेको प्रभावको घटनाका विवरण कृषि मन्त्रालयले संकलन गरिरहेको बताएको छ।

तापनि एकीकृत तथ्यांकको अभावमा प्रभावको ठोस मापन गर्न अझै पनि गाह्रो भएको सरकारी अधिकारीहरु बताउँछन्।