भौतिक सुविधाले नभइ समयले 'खुशी दिलाउँछ'

  • 25 जुलाई 2017
समय ब्यवस्थापन तस्वीर कपीराइट Getty Images

मनोविश्लेषकहरुले अत्यधिक खुशी हासिल गर्न भौतिक सुखसुविधाका सामाग्रीमा पैसा खर्च गर्नुभन्दा बरु आफ्नो समयको बचतका लागि खर्च गर्नु उपयुक्त हुने तथ्य पत्ता लगाएका छन्।

उनीहरुका अनुसार समय अभावका कारण हुने तनावले बढी चिन्ता र अनिद्राको अवस्था पैदा गर्दछ।

तर पनि कतिपय धनाढ्यहरुले आफूलाई मन नपर्ने काम पनि पैसा तिरेर अरुबाट गराउन हिच्किचाउने गरेको मनोविश्लेषकहरु बताउँछन्।

क्यानाडास्थित ब्रिटिश कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डा एलिजावेथ डनले भने, ''श्रृंखलाबद्ध गरिएका सर्वेक्षणमा हामीले त्यस्ता मानिसहरु बढी खुशी पाएका छौं जसले पैसा खर्च गरेर आफ्ना लागि धेरै खाली समय निकाल्छन्। यसबाट उनीहरुलाई जीवनमा उच्चस्तरको सन्तुष्टि मिल्छ।''

धेरै देशहरुमा मानिसहरुको बढ्दो आम्दानीले नयाँ अवस्था पैदा गरेको छ।

तनावग्रस्त

जर्मनीदेखि अमेरिकासम्मका मानिसहरुले कामको चाप धान्न धेरै समय दिनुपर्ने वाध्यताले उत्पन्न हुने 'समय अभाव' का कारण तनावग्रस्त हुनुपरेको बताउँछन्।

पैसाले समयको बचत गरि खुशी बढाउन सक्छ या सक्दैन भनी अमेरिका, क्यानाडा र नेदरल्याण्ड्सका मनोविश्लेषकहरुले यस्तो अनुसन्धान थालेका हुन्।

अमेरिका, क्यानाडा र नेदरल्याण्ड्सका ८०० जना करोडपति सहित ६००० वयष्क मानिसहरुलाई उनीहरुले समय किन्नका लागि कति खर्च गर्छन् भनेर सोधिएको थियो।

अनुसन्धानकर्ताले ती मध्ये एक तिहाइ भन्दा कम मानिसले समय किन्नका लागि पैसा खर्च गर्ने गरेको पत्ता लगाए। त्यसरी समय किन्नेहरुले आफूहरुको जीवनमा अत्यधिक सन्तुष्टि मिलेको बताएका छन्।

परीक्षण

त्यसपछि अनुसन्धानकर्ताले भ्यानकुभर, क्यानाडाका ६० जना वयष्क कामदारहरुसंग दुई हप्ता लामो परीक्षणको तयारी गरे।

एक सप्ताहन्तमा उनीहरुलाई आफ्नो समयको बचतका लागि चालिस डलर खर्च गर्न सक्ने गरि दिइयो। उनीहरुले कार्यस्थलमै खाना मगाए, छिमेकका केटाकेटीलाई पैसा दिएर आफ्ना कतिपय काम गराए र सरसफाई सेवाका लागि पैसा खर्च गरे।

अर्को सप्ताहन्तमा उनीहरुलाई सुखसयलका भौतिक सामाग्री किन्न लगाईयो।

उनीहरुले रक्सी, लुगा र पुस्तक लगायतका सामाग्री खरिद गरे।

एउटा जर्नलमा छापिएको उक्त अध्ययनमा सुखसयलका सामाग्री खरिद गर्नु भन्दा समयको बचत गर्न खर्च गर्दा तनाव कम गर्न सकिने र बढी खुशी हासिल गर्न सकिने तथ्य पत्ता लाग्यो।