'अधिकांश साना दल मतदाताबाट अस्वीकृत'

  • 26 जुलाई 2017
निर्वाचन आयोग
Image caption निर्वाचन आयोगको विवरण हेर्दा तीन चौथाई दलहरुलाई मतदाताले अस्वीकृत गरिदिएका छन्।

स्थानीय चुनावमा सहभागिता जनाएका राजनीतिक दलहरुमध्ये अधिकांश साना दल मतदाताबाट अस्वीकृत भएको देखिएको छ।

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय चुनावबारे मंगलबार सार्वजनिक गरेको विस्तृत विवरण अनुसार त्यो चुनावमा ६३ वटा दलले भाग लिएकोमा स्वतन्त्रबाहेक १२ दलले मात्रै प्रतिनिधित्व गर्ने मौका पाएका छन्।

पहिलो चरणमा सोही संख्यामा दलहरुले सहभागिता जनाएकोमा १० वटा मात्रै विजयी भएको आयोगका प्रवक्ताले बताए।

एकजना पूर्व प्रमुख निर्वाचन आयुक्तले पछिल्लो मत परिणामले धेरै दलहरु भएर मात्रै सबैले प्रतिनिधित्व पाउँछन् भन्ने कुरा सत्य नभएको सन्देश दिएको बताए।

विवरण

निर्वाचन आयोगको विवरण हेर्दा तीन चौथाई दलहरुलाई मतदाताले अस्वीकृत गरिदिएका छन्।

दोस्रो चरणको चुनावमा सबैभन्दा कम चुरे राष्ट्रिय एकता पार्टीले जम्मा दुई मत पाएको छ भने सबैभन्दा बढी मत नेकपा एमालेको पोल्टामा परेको छ।

आयोगका अनुसार १० लाखभन्दा माथि मत पाउने दलहरुको सूचीमा नेपाली कांग्रेस दोस्रो स्थानमा, नेकपा माओवादी केन्द्र तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो स्थानमा छन्।

केही दलहरु कुनै-कुनै पदमा त एक मत ल्याउन पनि विफल भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, "१५,००० निर्वाचितमध्ये १२ वटा राजनीतिक दलमा कसैको चारजना, कसैको १० जना, कसैको सयजना छन्, यस्तै किसिमले प्रतिनिधि निर्वाचित गराउन उनीहरु सफल भएका छन्। थुप्रै राजनीतिक दलहरु कुनै पनि प्रतिनिधि निर्वाचित गराउन सकेका छैनन्।"

आयोगका अनुसार दोस्रो चरणको चुनावमा झण्डै साढे ६२ हजार उम्मेदवार प्रतिस्पर्धामा थिए जसमध्ये विभिन्न पदमा १५ हजार ९ जना निर्वाचित भएकोमा सबैभन्दा बढी करिब ६,८०० नेकपा एमालेका निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका करिब ५,२०० र नेकपा माओवादीका साढे १,९०० प्रतिनिधि निर्वाचित भएका छन्।

निर्वाचित दलहरुमध्ये नेकपा (मार्क्सवादी-लेनिनवादी) ले सबैभन्दा कम चार पदमा जित हासिल गरेको छ।

सन्देश

हाल जिल्ला कार्यालयहरुमार्फत जमानत जफतसम्बन्धी विवरण संकलन गरिरहेको निर्वाचन आयोगले ठूलो संख्यामा उम्मेदवारहरुको जमानत जफत भएको जनाएको छ।

पहिलो र दोस्रो चरणको निर्वाचन आयोगको नतिजाले के सन्देश दिएको देखिन्छ भनी जिज्ञासा राख्दा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भने, "दलहरु बलिया र ठूला हुनुपर्यो र मिल्दा विचार भएका दलहरु मिलेर निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पाठ हो।"

पछिल्ला चुनावी नतिजाले साना दलहरुलाई एकीकरणका निम्ति घच्घच्याएको हुनुपर्ने धेरैको बुझाई छ।

खासगरी थ्रेसहोल्ड अर्थात् प्रतिनिधित्वका निम्ति न्यूनतम मत प्रतिशत तोकिएपछि साना दलहरु मिलेर जानुको विकल्प नरहने देखिन्छ।