एउटा महँगो सम्बन्ध विच्छेद

  • 26 जुलाई 2017
भायोलिन

आफ्ना पूर्व श्रीमान्‌द्वारा संग्रह गरिएका ५४ वटा भायोलिन र त्यसका ७० वटा धनु फुटाएको आरोपमा जापानमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

ती सामाग्रीको मूल्य करिब १० लाख डलर पर्ने बताइएको छ।

३४ वर्षीया मिडोरी कावामिया नागोयास्थित आफ्ना पूर्व श्रीमान्‌को 'अपार्टमेन्ट'मा छिरेर भायोलिन र त्यसका धनु फुटाएको प्रहरीको आशंका छ।

उक्त घटना सन् २०१४ मा भएको थियो जतिबेला उनीहरुको सम्बन्ध टुटेको थियो।

संग्रहकर्ता

तर त्यसको तीन वर्षपछि ती महिला पक्राउ परेकी हुन्।

ती महिलाका ६२ वर्षीय पूर्व श्रीमान्‌ भायोलिनका संग्रहकर्ता भएको र आफैंले पनि भायोलिन बनाउने गरेको बताइएको छ।

क्षति भएका सामाग्रीमध्ये इटलीमा बनेको एउटा भायोलिन पनि थियो जसको मूल्य ५ करोड जापानी यन पर्ने क्योदो समाचार संस्थाले जनाएको छ।

जापानी सञ्चारमाध्यमका अनुसार ती महिला चिनियाँ नागरिक हुन् र चीनबाट टोकियो फर्किन लागेको बेला मंगलवार प्रहरीले उनलाई पक्राउ गरेको थियो।