मन्त्रिपरिषद् विस्तारः कसलाई कुन मन्त्रालय?

  • 26 जुलाई 2017
शपथ तस्वीर कपीराइट President office

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको डेढ महिनापछि अधिकांश नयाँ अनुहारलाई समावेश गराउँदै दोस्रोपटक बुधवार मन्त्रिमण्डल विस्तार गरेका छन्।

विस्तारित मन्त्रिपरिषद्‍मा उनको दल नेपाली कांग्रेसबाट १० जना, नेकपा माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट दुई र नेकपा संयुक्तबाट एकजना समावेश भएका छन्।

राज्यका महत्त्वपूर्ण पदहरुमा महिला सहभागिता बढाउँदै लैजानुपर्ने माग भइरहेका बेला थपिएका मन्त्रीसहित २७ सदस्यीय मन्त्रिमण्डलमा तीनजना महिलाले मात्रै स्थान पाएका छन्।

पार्टीहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति नहुँदा र संविधान संशोधनमा सघाउने शर्तमा कतिपय साना दलहरुलाई पनि सरकारमा सहभागी गराउने भनिएको प्रयासका कारण मन्त्रिपरिषद्‍ विस्तारमा विलम्ब भएको चर्चा थियो।

जिम्मेवारी

यी र यस्ता चर्चाबीच प्रधानमन्त्रीले आफ्नै पार्टी र सत्ता साझेदार तीनवटा दलबाट मन्त्रिमण्डलमा सामेल गराएका छन्।

विस्तारित मन्त्रिमण्डलमा सार्वजनिक लेखा समितिका पूर्व सभापति रामकृष्ण यादवदेखि संविधानसभाको दोस्रो चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई काठमाण्डूमा हराएका नेता राजन केसी, यसअघि स्वास्थ्य मन्त्रालय पनि सम्हालेका र फेरि उही मन्त्रालय पाएका नेता गिरिराजमणि पोखरेलसम्म अटाएका छन्।

नेपाली कांग्रेसबाट मोहनबहादुर बस्नेत सूचना तथा सञ्चारमन्त्रीमा, भीमसेनदास प्रधान रक्षा, वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, यज्ञबहादुर थापा कानून र मीन विश्वकर्मा वाणिज्यमन्त्रीमा नियुक्त भएका छन्।

Image caption गत जेठ २३ गते चौथोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए।

कांग्रेसकै तर्फबाट सञ्जय गौतमले सिँचाइ मन्त्रालयको, रामकृष्ण यादव कृषि मन्त्रालय, राजन केसीले युवा तथा खेलकुद मन्त्रालय, अम्बिका बस्नेतले सहकारी तथा गरिबी निवारण मन्त्रालयको र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

समावेश

त्यस्तै नेकपा माओवादी केन्द्रबाट गिरिराजमन्त्री पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाही ऊर्जा, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, सन्तकुमार थारु चौधरी पशुपंक्षी विकास र आशा खनाल कोइराला महिला तथा बालबालिकामन्त्री नियुक्त भएका छन्।

नेपाल लोकतान्त्रिक फोरमबाट जीतेन्द्र देवले पर्यटन मन्त्रालय र गोपाल दहितले भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने नेकपा संयुक्तकी मिथिला चौधरीले जनसंख्या तथा वातावरणमन्त्री भएकी छन्।

प्रधानमन्त्रीसहित कांग्रेसका कूल १४ मन्त्रीमध्ये एकजना, माओवादी केन्द्रका ९ मध्ये एकजना र नेकपा संयुक्तकी एकजनासहित तीनजना महिला समावेश छन्।

जम्मा ११ प्रतिशत सहभागिताबारे जिज्ञासा राख्दा कांग्रेसका नेता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने, "अहिले के बाध्यता थियो मलाई जानकारी छैन। तुलनात्मक रुपमा महिला सहभागिता बढ्दै गएको छ र ३३ प्रतिशत पुर्‍याउँदै लैजानुपर्छ।"

मानसिकता

तर महिला सहभागिता बढाउन माग गर्दै गत सातामात्रै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन गएकी कांग्रेस सम्बद्ध महिला संघकी अध्यक्ष उमा रेग्मीले बाध्यताभन्दा पनि दलहरुको मानसिक प्रमुख दोषी भएको बताइन्।

उनले भनिन्, "सबै पार्टीका नेतामा महिलालाई पनि समान अवसर दिनुपर्छ भन्ने सोचले अझै पूर्णता पाउन सकेको छैन।"

राप्रपालाई मन्त्रिमण्डलमा सहभागी गराई संविधान संशोधनको प्रस्तावका पक्षमा दुई तिहाई मत पुर्याउने सत्ताधारी दलहरुको योजना भएको बताइएको थियो।

तर बुधवार मन्त्रिमण्डल विस्तारमा सहभागी नभएको राप्रपाले सरकार निर्माण र संविधान संशोधनका विषयमा सरकारसँग वार्ता गर्न गठन गरिएको समिति भंग गरेको जनाएको छ।