मडुरोद्वारा अमेरिकी प्रतिबन्धको विरोध

  • 27 जुलाई 2017
मडुरो तस्वीर कपीराइट EPA
Image caption आइतबार हुने संविधानसभाको चुनावअघि भेनेजुएलामा तनाव बढ्दै जाँदा अमेरिकी प्रतिबन्धको घोषणा भएको हो।

अमेरिकाले भेनेजुएलाका १३ जना नेता तथा सैनिक अधिकारीमाथि प्रजातन्त्रलाई समर्थन नगरेको भन्दै प्रतिबन्ध लगाइदिएलगत्तै भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकी कदम गैरकानुनी भन्दै त्यसलाई अस्वीकृत गरेका छन्।

उनले अमेरिकी कदम "गैरकानुनी, अभद्र र अप्रत्याशित" भएको प्रतिक्रिया दिए।

अमेरिकाले मडुरोलाई आइतबारका लागि तय गरिएको विवादास्पद संविधान सभाको चुनाव स्थगित गर्न आग्रह गरेको छ।

अमेरिकाले भेनेजुएलाको सेनाका प्रमुख, राष्ट्रिय प्रहरीका निर्देशक, राष्ट्रिय निर्वाचन परिषदका प्रमुख र एक भुतपूर्व उपराष्ट्रपतिविरुद्ध प्रतिबन्ध लगाएको हो।

तनाव

भेनेजुएलाका विपक्षी दलले आइतबारको मतदानको विरोधमा थालेको ४८ घण्टा लामो आमहड्ताल शुरु भएलगत्तै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो।

राजधानी कराकस र अन्य शहरमा सडकहरुमा अवरोध गरिएको छ।

पश्चिमी नगर मेरिदामा प्रहरी र प्रदर्शनकारीबीचको झडफमा एक पुरुषको ज्यान गएको छ। कराकसमा भएको तनावमा तीन जना घाइते भएका छन्।

केही सार्वजनिक सेवाहरु समेत प्रभावित भएका खबर प्राप्त भएका छन्।

बीबीसीका ल्याटीन अमेरिका संपादक लिओनार्द रोशा भन्छन्, "राष्ट्रपति ट्रम्पले मडुरो सरकारलाई दिन खोजेको सन्देश हो: अमेरिका आइतबारको चुनाव चाहादैन; सबै विकल्पहरु खुल्ला छन् र अमेरिकाले थप प्रतिबन्धहरु लगाउन सक्छ।"