मुख्यमन्त्रीमा नीतीश कुमारको छैठौं शपथ

  • 27 जुलाई 2017
नीतीश कुमार तस्वीर कपीराइट TWITTER @SUSHILMODI

भारतको उत्तरी राज्य बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएको भोलिपल्ट नीतीश कुमारले पुन: मुख्यमन्त्री पदको शपथ ग्रहण लिएका छन्।

मुख्यमन्त्री कुमारले सत्ता-साझेदार राष्ट्रिय जनता दल (आरजेडी) का नेताविरुद्ध भ्रष्टाचार सम्बन्धी छानबिनका कारण राजीनामा दिएको बुधबार जनाएका थिए।

उनले बिहारको मुख्यमन्त्रीको रुपमा छैठौं पटक शपथ लिएका हुन्।

उनले सन् २०१५ मा बिहारमा भएको चुनावमा आफूले परास्त गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) को साथ पाएका छन्।

आरजेडी ले नीतीश कुमारमाथि विश्वासघात गरेको आरोप लगाएको छ।

अस्वीकार

आरजेडीका नेता पूर्वमुख्यमन्त्री लालूप्रसाद यादवले आफ्नो पार्टीलाई बदनाम गराउन नीतीश कुमारले भाजपासँग साँठगाँठ गरेको आरोप लगाएका छन्।

यादव र नीतीश कुमारको अघिल्लो सरकारका उपमुख्यमन्त्री यादवका छोरा तेजस्वीविरुद्ध भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले भ्रष्टाचार गरेको आरोपमा अनुसन्धान गररहेको छ।

उनीहरुले आफूहरुले कुनै गलत काम नगरेको भन्दै आरोप अस्वीकार गरेका छन्।

मुख्यमन्त्री नीतीश कुमारले संवाददाताहरुलाई आफूले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएको र आफ्ना उपमुख्यमन्त्रीलाई आफूविरुद्धको अभियोगबारे सार्वजनिक रुपमा स्पष्ट पार्न सुझाव दिए पनि उनले त्यसो गर्न अस्वीकार गरेको बताए।

बर्खास्त

तस्वीर कपीराइट PTI
Image caption लालू यादवले नीतीश कुमारमाथि विश्वासघात गरेको आरोप लगाएका छन्

नीतीश कुमारको नयाँ कार्याकालले भाजपा नेतृत्वको न्यासनल डेमोक्रेटिक एलाइन्स (एनडिए) मा उनको फिर्तीको संकेत गरेको ठानिएको छ।

उनले भाजपाले सन् २०१३ मा नरेन्द्र मोदीलाई सन् २०१४ को आम चुनावमा प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा मैदानमा उतार्ने निर्णय लिएपछि असहमति दर्शाउँदै एनडिए त्यागेका थिए।

उसबेला नीतीश कुमारले भाजपाका मन्त्रीलाई गठबन्धन सरकारबाट बर्खास्त गरेका थिए।

४ वर्षपछि नीतीश कुमारको मन्त्रिपरिषद्‌मा भाजपाका बिहारका नेता सुशील मोदीले उपमुख्यमन्त्रीमा तेजस्वीको ठाउँ लिएका छन्।

सन् १९९९ मा बिहारमा भएको रेल दुर्घट्नापछि नीतीश कुमारले नैतिक जिम्मेवारी लिँदै रेलमन्त्रीबाट राजीनामा दिएका थिए।

पहिलो

उसबेला लालबहादुर शास्त्रीपछि नैतिकताको आधारमा राजीनामा दिने उनी दोश्रो रेलमन्त्री भएको बताइएको थियो।

त्यसको वर्ष दिनपछि सन् २००० मा तत्कालीन राज्यपाल सुन्दरसिंह भण्डारीले नीतीश कुमारलाई मुख्यमन्त्रीको शपथ गराएका थिए।

तर बहुमत जुटाउन नसकेकाले उनको सरकार सात दिन मात्र टिकेको थियो।

त्यसपछि उनले दिएको राजीनामा मुख्यमन्त्रीबाट दिएको पहिलो राजीनामा थियो।