प्यालेष्टिनी प्रार्थनामा फर्किए

  • 27 जुलाई 2017
प्यालेष्टिनी तस्वीर कपीराइट Getty Images

जेरुसलेमस्थित एउटा संवेदनशील धार्मिकस्थलमा दुईहप्तासम्म चलेको विरोध प्रदर्शन र तनाव अन्त्य भएपछि पहिलो पल्ट प्यालेष्टिनीहरुको भिड त्यहाँ प्रवेश गरेको छ।

मुसलमानहरुले हरम अल-शरिफ र यहुदीहरुले टेम्पल माउण्ट भन्ने उक्त धार्मिकस्थलमा सुरक्षा जोखिम बढेको भन्दै इजरेलले लगाएको थप छेकबार र धातु पहिचान गर्ने यन्त्र- मेटल डिटेक्टरहरु हटाइएपछि मुसलमान श्रद्धालुहरुले त्यहां प्रवेश गरेका हुन्।

आह्वान 

इजरेली नयाँ सुरक्षा व्यवस्थापछि मुसलमान धार्मिक नेताहरुले त्यस क्षेत्रमा प्रवेश नगर्न श्रद्धालुहरुलाई आह्वान गरेका थिए।

इजरेलले ती सुरक्षा प्रावधान हटाएसंगै त्यस्तो बहिष्कारको आह्वान फिर्ता लिइएको थियो।

सातजनाको ज्यान जाने गरी भएको हिंसात्मक विरोध प्रदर्शनका माझ इजरेलले उक्त संवेदनशील धार्मिकस्थलमा जडान गरिएका अन्तिम सुरक्षा उपकरणहरु बिहीबार हटाएको थियो।

आफूहरुले हरम अल-शरिफ भन्ने गरेको धार्मिकस्थलमा नयाँ छेकबार र मेटल डिटेक्टरहरु जडान गर्ने इजरेली कदमको प्यालेष्टिनीहरुले उग्र रुपमा विरोध गरेका थिए।

यहुदीहरुले टेम्पल माउण्ट पनि भन्ने गरेका उक्त धार्मिक क्षेत्र र ओल्ड सिटि भनिने प्राचीन शहरमा थप नियन्त्रण कायम गर्ने इजरेलको प्रयासका रुपमा प्यालेष्टिनीहरुले त्यसलाई लिएका थिए।

मतभेद

गत हप्ता प्यालष्टिनी प्रशासनका अध्यक्ष महमुद अब्बासले, इजरेलले नयाँ सुरक्षा व्यवस्था खारेज नगरेसम्म सो देशसंगको सुरक्षा सहयोग लगायत सबैखाले सम्बन्ध स्थगित गर्ने घोषणा गरेका थिए।

यो संकट समाधान गर्न बाक्लो कुटनीतिक प्रयासहरु पनि भएका थिए, जुन प्रयासमा जोर्डन र संयुक्त राज्य अमेरिका पनि सहभागी थिए।

नयाँ सुरक्षा व्यवस्था हटाउने निर्णयका बारे इजरेली सरकारले कुनै टिप्पणी गरेको छैन।

तर पर्यवेक्षकहरु भन्छन् यो प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले चालेको नरम कदम हो, जुन कारणले उनको मन्त्रिमण्डलका बढी दक्षिणपन्थी सदस्यहरुसंग उनको मतभेद चर्कन सक्नेछ।

सन् १९६७ मा भएको युद्धपछि इजरेलले कब्जामा लिएको पूर्वी जेरुसलेममाथिको नियन्त्रणको मुद्दा प्यालेष्टिनीहरुसंग जारी विवादको सबैभन्दा मतभेदकारी मध्यमा पर्दछ।