पाकिस्तानका प्रधानमन्त्री शरिफ अयोग्य घोषित

  • 28 जुलाई 2017
नवाज सरिफ तस्वीर कपीराइट AFP

पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धी अभियोगहरुमा गरिएको छानबिनपछि प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक ओहदामा बसिरहन अयोग्य घोषित गरिदिएको छ।

सन् २०१५ मा भएको चर्चित 'पनामा पेपर्स' प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिबारे छानबिन भएको थियो।

'पनामा पेपर्स' प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिबारे छानविन गर्न गठन गरिएको टोलीले गत जुलाई १० मा आफ्नो प्रतिवेदन दिएको थियो।

यो फैसलापछि नवाज शरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् र मन्त्रिमण्डल भंग गरिएको छ।

निरन्तर

प्रधानमन्त्री नवाज शरिफले निरन्तर रुपमा आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन्।

तस्वीर कपीराइट AFP

राजधानी इस्लामावादमा कडा सुरक्षा व्यवस्था माझ सर्वोच्च अदालतले त्यस्तो फैसला सुनाएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरु एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद सम्मिलित पाँच सदस्यीय इजलासले प्रधानमन्त्रीविरुद्ध उक्त फैसला सुनाएको हो।

'पनामा पेपर्स' प्रकरणलाई लिएर प्रधानमन्त्री विरुद्ध उजुरी दायर गर्नेहरु मध्ये विपक्षी पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष तथा भूतपूर्व क्रिकेट खेलाडी इमरान खान पनि एक थिए।

अदालतमा फैसला सुन्नका लागि मानिसहरुको ठूलो भिड लागेको थियो।

रोयटर्स समाचार एजेन्सीले एकजना न्यायाधीश एजाज अफजल खानलाई उद्धृत गर्दै जनाएको छ "अब नवाज शरिफ संसदको इमान्दार सदस्य बनिरहन" योग्य रहेनन्।