‘ह्यामबर्गमा आक्रमण गर्ने इस्लामवादी’

  • 29 जुलाई 2017
आक्रमण तस्वीर कपीराइट Getty Images

जर्मनीको ह्यामबर्गमा एउटा सुपरमार्केटमा चक्कु प्रहार गरी एकजनाको ज्यान लिने र ६ जनालाई घाइते बनाउने आक्रमणकारी 'चिनिएका इस्लामवादी' भएको प्रहरीले जनाएको छ।

एकजना प्रहरीका प्रवक्ताले भने, "उनी एक इस्लामवादीका रुपमा चिनिएका थिए तर जिहादीका रुपमा होइन।"

उनी 'मनोवैज्ञानिक' समस्याहरुबाट पनि ग्रस्त रहेको प्रहरीले जनाएको छ।

संयुक्त अरब एमिरेट्समा जन्मिएका ती पुरुष जर्मनीमा शरण पाउन नसकेका हुन्।

प्रहार

उनले शुक्रवार ग्राहकमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए।

तस्वीर कपीराइट Getty Images

प्रहरीका अनुसार उनी एक्लैले आक्रमण गरेका थिए र पछि बाटोमा हिँडिरहेका मानिसहरुले उनलाई कुटपिट गरेका थिए।

शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले २६ वर्षीय ती पुरुषमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको जनाएको छ।

आक्रमण गर्नुको उद्देश्यबारे स्पष्ट भइनसकेको बताइएको छ।

आग्रह

प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणकारीलाई चक्कु फाल्न केही मानिसहरुले अरेबिकमा आग्रह गरेका थिए।

एकजना प्रत्यदर्शीले बताएअनुसार आक्रमणकारीले ५० सेन्टिमिटर लामो चक्कु बोकेका थिए।

५० वर्षीया एक महिला र १९ देखि ६४ वर्ष बीचका चारजना पुरुषमाथि आक्रमण गरिएको थियो।

सहयोग गर्न पुगेका ३५ वर्षीय पुरुष पनि घाइते भएका थिए।