सडकमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध

  • 30 जुलाई 2017
हवाई तस्वीर कपीराइट GETTY IMAGES

अमेरिकाको हवाई राज्यको होनलुलु शहरले बाटो काट्दा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

मोबाइलबाट सन्देश आदानप्रदान गरिरहेको वा आफ्ना मोबाइल सामग्रीहरु हेरिरहेको अवस्थामा कुनै पनि सडक यात्रु फेला परे उनीहरुलाई १५ देखि ३५ डलरसम्म जरिबाना गरिने बताइएको छ।

उक्त प्रतिबन्धको उल्लंघन दोहोर्याएर गर्नेहरुलाई अझ बढी जरिबाना गराइने अधिकारीहरुले जनाएका छन्।

आगामी अक्टोबरबाट लागु हुने उक्त नियमले सडक दुर्घटना नियन्त्रण गर्ने लक्ष्य लिएको छ।

कडा

तर आलोचकहरुले चाहिने भन्दा कडा नियम ल्याएको आरोप सरकारमाथि लगाएका छन्।

होनलुलुका मेयर किर्क काल्डवेल चाँहि मानिसहरुले विवेक गुमाउँदै गइरहेको भन्दै अमेरिका भर सडक पार गर्दा सबैभन्दा बढी मानिसहरु उनको शहरमा दुर्घटनामा पर्ने गरेको बताएका छन्।

होनलुलुका मेयरले हस्ताक्षर गरेको उक्त कानून उक्त राज्यको राजधानी र ओहाउ भन्ने टापुमा कार्यान्वयन गरिनेछ।

आलोचना

अमेरिकाभर सन् २००० देखि २०११ सम्म भएका मोबाइल फोन प्रयोग जोडिएका सडक दुर्घटनामा ११ हजार भन्दा बढी मानिस घाइते भएका थिए।

तर आलोचकहरुले नयाँ कानूनले नागरिक स्वतन्त्रतामा आँच पुर्याउने भन्दै यस्ता प्रकृतिका दुर्घटना शिक्षाको माध्यमबाट कम गर्न सकिने तर्क गरेका छन्।

सडकमा मोबाइल फोनको प्रयोगलाई निरुत्साहित गर्न जर्मनीको एउटा शहरले कानून परिवर्तन नगरी सचेतना अभियानको प्रयोग गर्दै आएको छ।

मानिसहरुले माथि हैन तल हेरेर पनि जानकारी पाउन सकुन भनेर आउग्जवर्ग शहरले भुइँमा ट्राफिक संकेतहरु राखिदिएको थियो।