राष्ट्रपति ट्रम्प चीनबाट 'निराश'

  • 30 जुलाई 2017
क्षेप्यास्त्र तस्वीर कपीराइट AFP
Image caption पछिल्लो क्षेप्यास्त्र आक्रमण प्योङयाङमा ठूल्ठूला स्क्रीनमा देखाइएको थियो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रम बन्द गराउन चाहिने जति प्रयास नगरेको भन्दै चीनको आलोचना गरेका छन्।

प्योङयाङले एक महिनामा दोस्रो पटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पले समाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उत्तर कोरियाले हालै अमेरिकासम्म क्षेप्यास्त्र प्रहार गर्ने शक्ति प्राप्त गरेको बताएको थियो।

शनिबार चीनले क्षेप्यास्त्र परीक्षणको विरोध गर्दै सबै पक्षलाई संयम अपनाउन भनेको थियो।

संयम

शनिबार नै दुई अमेरिकी बम खसाल्ने विमानहरुले कोरियाली प्रायद्वीपमा अभ्यास गरेका थिए।

तस्वीर कपीराइट AFP
Image caption क्षेप्यास्त्र परिक्षण पछि प्योङयाङले सार्वजनिक गरेको तस्वीर

तर ट्रम्पले बेइजिङको प्रतिक्रियाप्रति असन्तुष्टी जनाउँदै अमेरिकाको चीनसँगको व्यापार घाटालाई उत्तर कोरियासँग लगेर जोडे।

उनले भने, "म चीनप्रति निराश भएको छु। हाम्रा पूर्व मूर्ख नेताहरुले व्यापारमा चीनलाई सयौं अर्ब डलर कमाउन दिए तर उनीहरु हाम्रा लागि उत्तर कोरिया विरुद्ध केही गर्दैनन्, कुरा मात्रै गर्छन्।"

"अब हामी त्यस्तो हुन दिने छैनौं, चीनले सजिलै यो समस्या समाधान गर्न सक्छ।"

राष्ट्रपति ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच यो वर्षको शुरुतिर उत्तर कोरियाबारे कुराकानी भएको थियो र त्यसबेला यी दुई मुलुकले प्योङयाङबारे थुप्रै विकल्पहरु सोचिरहेको बताएका थिए।

तर त्यस यता उत्तर कोरियाले दुईपटक अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।