जर्मनीमा ‘नाइट क्लब’मा गोली प्रहार

  • 30 जुलाई 2017
क्लब तस्वीर कपीराइट EPA

स्वीट्जरल्याण्डसँग सीमा जोडिएको जर्मनीको कन्सटेन्स शहरस्थित एउटा 'नाइट क्लब'मा गोली प्रहार भएको छ।

घटनामा एकजनाको ज्यान गएको र तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

पछि प्रहरीसँग भएको गोली हानाहानमा ३४ वर्षीय बन्दुकधारी मारिएका थिए।

प्रहरीको गोली लागेर घाइते भएका बन्दुकधारीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

विशेष फौज

गोली हानाहानमा एकजना प्रहरी अधिकारी पनि घाइते भएका छन् तर उनको स्थिति गम्भीर नरहेको बताइएको छ।

पूर्वसावधानीका निम्ति घटनास्थलमा विशेष फौज र एउटा हेलिकोप्टर परिचालन गरिएको थियो।

तस्वीर कपीराइट EPA

बन्दुकधारीले एक्लै आक्रमण गरेका थिए वा अरु पनि संलग्न थिए भनी स्पष्ट भइसकेको छैन।

आक्रमणको उद्देश्यबारे पनि थाहा हुन नसकेको अधिकारीहरुले बताएका छन्।

बन्दुकधारीले गोली चलाउन थालेपछि कतिपय ग्राहकहरु भागेका थिए भने कतिपय लुकेका थिए।

स्थानीय समयअनुसार आइतबार बिहान साढे चार बजे घटना भएको थियो।