विपक्षीको बहिष्कारबीच संविधानसभा चुनाव

  • 30 जुलाई 2017
मतदान तस्वीर कपीराइट AFP

भेनेजुएलामा संविधान पुनर्लेखन गर्न संविधानसभा गठनका लागि आइतबार चुनाव भइरहेको छ।

५४५ सदस्यीय संविधानसभाका लागि ६,००० भन्दा बढी उम्मेदवार छन् तर त्यसमध्ये एकजना पनि विपक्षी दलबाट छैनन्।

विपक्षीहरुले सत्तामा राष्ट्रपति निकोलास मडुरोको पकड बलियो बनाउने अस्त्र भन्दै मतदान बहिष्कार गरेका छन्।

राष्ट्रपति मडुरोले चाहिँ देशलाई राजनीतिक र आर्थिक संकटबाट पार लगाउन त्यो एकमात्र विकल्प भएको तर्क गरेका छन्।

महत्त्वपूर्ण

टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति मडुरोले चुनावमा 'ठूलो जित' हुने बताउँदै देशको राजनीतिक प्रणालीमा सबैभन्दा महत्त्वपूर्ण चुनाव भएको उल्लेख गरेका छन्।

भेनेजुएलाको छिमेकी मुलुक कोलम्बियाको सरकारले संविधानसभालाई आफूहरुले मान्यता नदिने बताएको छ भने फ्रान्स, स्पेन, अमेरिका र युरोपेली संघले चुनाव रद्द गर्न आग्रह गरेका छन्।

तस्वीर कपीराइट Reuters

प्रदर्शनमा रोक लगाइए पनि विपक्षीले मानिसहरुलाई प्रदशर्नमा उत्रिन आह्वान गरेका छन्।

प्रदर्शनमा रोक लगाउने सरकारी निर्णयको विरोधमा शनिवार प्रदर्शनकारीहरुको समूहले राजधानी काराकासमा फोहोर राखेर सडक अवरुद्ध पारेका थिए।

संकट

तस्वीर कपीराइट EPA

राष्ट्रपति मडुरोले पद नछाडेसम्म विरोध जारी राख्ने विपक्षीहरुले बताउँदै आएका छन्।

चुनावी परिषद्का प्रमुखले देशका केही भागमा केही मतदान यन्त्रमा तोडफोड र आगजनी गरिएको बताएका छन्।

तेलको धनी भेनेजुएला राजनीतिक संकटले घेरिएको छ, जहाँ महँगीको समस्या र दैनिक उपभोग्य वस्तुको अभाव बढ्दो छ।

अप्रिय घटना भएर सोमबार पसलहरु बन्द हुनसक्ने आशंकामा धेरै राजधानीवासीले शनिवार अत्यावश्यक वस्तु किनेर जम्मा गरेका छन्।