भेनेजुएलाः चुनावी हिंसामा कैयौँको मृत्यु

  • 30 जुलाई 2017
मतदान तस्वीर कपीराइट Reuters

भेनेजुएलामा संविधानसभा चुनावसम्बन्धी भएका हिंसामा कैयौँ मानिस मारिएको बताइएको छ।

मृत्यु हुनेमा दुईजना राजनीतिज्ञ पनि छन्, जसमध्ये संविधानसभाका एकजना उम्मेदवार र अर्का विपक्षी नेता छन्।

चुनाव शुरु हुने बखत सडकहरु सुनसान देखिएका थिए।

५४५ सदस्यीय संविधानसभाका लागि ६,००० भन्दा बढी उम्मेदवार छन् तर त्यसमा एकजना पनि विपक्षी दलबाट छैनन्।

बहिष्कार

विपक्षीहरुले सत्तामा राष्ट्रपति निकोलास मडुरोको पकड बलियो बनाउने अस्त्र भएको भन्दै मतदान बहिष्कार गरेका छन्।

तस्वीर कपीराइट AFP

तर मडुरोले देशलाई राजनीतिक र आर्थिक संकटबाट पार लगाउन त्यो एकमात्र विकल्प भएको तर्क गरेका छन्।

मतदान शुरु हुनुअघि टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति मडुरोले चुनावमा 'ठूलो जित' हुने बताउँदै देशको राजनीतिक प्रणालीमा सबैभन्दा महत्त्वपूर्ण चुनाव भएको उल्लेख गरेका थिए।

भेनेजुएलाको छिमेकी मुलुक कोलम्बियाको सरकारले संविधानसभालाई आफूहरुले मान्यता नदिने बताएको छ भने फ्रान्स, स्पेन, अमेरिका र युरोपेली संघले चुनाव रद्द गर्न आग्रह गरेका थिए।

संविधानसभा निर्वाचन गराउने घोषणापछि जारी हिंसामा एक सयभन्दा बढीले ज्यान गुमाइकेका छन्।