चुनावसम्बन्धी दुई विधेयक समितिमा

  • 30 जुलाई 2017
गृहमन्त्री तस्वीर कपीराइट RSS
Image caption निर्वाचनसम्बन्धी दुईवटा विधेयक समितिमा पठाउने प्रस्ताव गृहमन्त्री जनार्दन शर्माले राखेका थिए

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन निर्वाचन आयोगले तत्कालै कानून उपलब्ध गराउन आग्रह गरिरहेका बेला निवार्चनसम्बन्धी ती दुईवटा विधेयक संसद्को एउटा समितिमा पठाइएका छन्।

विधेयक थप छलफलकानिम्ति राज्य व्यवस्था समितिमा पठाइएको संसद् सचिवालयले जनाएको छ।

अब ती विधेयक पारित हुन थप समय लाग्ने देखिन्छ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीको निम्ति अनिवार्य मानिएका कानून छोटो प्रक्रियाबाट पारित गरेर उपलब्ध गराउन आयोगको आग्रह गर्दै आएको थियो।

कारण

तर ती दुई विधेयक समितिमा पठाउने प्रस्ताव गृहमन्त्री जनार्दन शर्माले आइतवारको संसद् बैठकमा राखेका थिए।

उनको प्रस्ताव पारित भएपछि सभामुख ओनसरी घर्तीले भनिन्, "दुवै विधेयकमा परेका धेरै संशोधनमा पूर्ण बैठकमै छलफल गराएर नसकिने भएकाले समितिमा पठाइएको हो।"

प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा ४३ वटा र प्रदेश सभा सदस्य निर्वाचन विधेयकमा ३५ वटा संशोधन परेको संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयले संशोधनलाई एकीकृत गर्न ३ दिनसम्म लाग्ने बताइएको छ।

राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले भने, "प्रक्रियामा समय नलागोस् भनेर म पनि पहल गर्छु, समितिमा आएपछि दुवै विधेयकको टुंगो छिटो लगाउने प्रयास गर्छौं।"

थरीथरीका संशोधन

विधेयकमा नसमेटिएको अदालतले आदेश दिए अनुसार 'नो भोट' अर्थात् 'कसैलाई मत दिन चाहन्न' भन्ने प्रावधान पनि संशोधनमा परेको छ।

प्रत्यक्ष निर्वाचनमै महिलालाई आरक्षण र राज्यकोषबाट दललाई निर्वाचन खर्च उपलब्ध गराउनुपर्ने विषय पनि संशोधनमा समेटिएका छन्।

दुवै निर्वाचन एकै पटक गराउने आशय व्यक्त गरिरहेको सरकारले त्यही अनुरुप जाने योजना बनाएमा दुवै विधेयकलाई एकीकृत गर्नुपर्ने हुन्छ।

संसद्को निर्णयबाट सरकारले त्यसकोनिम्ति थप समय पाउने देखिन्छ।