अमेरिकी कर्मचारी निकाल्ने निर्णयको आलोचना

  • 31 जुलाई 2017
अमेरिकी कूटनैतिक नियोग तस्वीर कपीराइट AFP
Image caption कर्मचारी कटौती गर्ने निर्णय लागु भएपछि वासिङ्टन र मस्कोका कूटनैतिक नियोगमा दुवै पक्षको कर्मचारीको संख्या बराबर हुनेछ।

अमेरिकी विदेश मन्त्रालयले रुसस्थित आफ्ना कूटनैतिक नियोगका कर्मचारीलाई रुस छोड्न बाध्य तुल्याउने राष्ट्रपति पुटिनको निर्णयको प्रभाव मूल्यांकन गरिरहेको बताएको छ।

अमेरिकाले रुसी राष्ट्रपतिको निर्णयपछि अब के प्रतिक्रिया दिने भन्नेबारे पनि विचारविमर्श भइरहेको विदेश मन्त्रालयले जनाएको छ।

रुसस्थित ७५५ जना अमेरिकी कर्मचारीलाई आगामी सेप्टेम्बर १ तारिकदेखि रुसभित्र आफ्ना क्रियाकलाप बन्द गर्न भनिएको छ।

अमेरिकी कंग्रेसले गत वर्षको राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोप लगाउँदै रुसविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि मस्को अमेरिकाप्रति क्रुद्ध बनेको हो।

अस्वीकार

रुसले त्यस्ता आरोप सधै अस्वीकार गर्दै आएको छ।

रुसका सहायक विदेश मन्त्री सेर्गेई र्‍याबकोवले अमेरिकाविरुद्ध अन्य कदमहरुको चालिने सम्भावना कायमै रहेको बताएका छन्।

अमेरिकी कर्मचारीलाई रुसबाट बाहिर पठाउने निर्णय शुक्रबार गरिएको थियो।

अमेरिकी कूटनीतिक नियोगका ७५५ जना कर्मचारी हटाइएपछि रुसस्थित अमेरिकी कर्मचारीको संख्या ४५५ पुग्नेछ।

त्यो संख्या अमेरिका स्थित रुसी कर्मचारीको बराबर हुन आउछ।

मस्कोस्थित बीबीसी संवाददाता सराह रेन्स्‌फोर्डका अनुसार अमेरिकी नियोगमा कार्यरत रुसी कर्मचारी समेत कटौतिको मारमा परेका छन्।

वासिङ्टस्थित बीबीसीकी लउरा बिकर भन्छिन् वर्तमान समयमा ठूलो संख्यामा कूटनैतिक कर्मचारी कटौती गराउन लागिएको यो पहिलो घटना हुन सक्छ।