भेनेजुएलाः 'साढे ४१ प्रतिशत मतदान'

  • 31 जुलाई 2017
भनेजुएला तस्वीर कपीराइट EPA

भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले संविधानसभाको एउटा विवादास्पद चुनाव सम्पन्न भएकोमा स्वागत गरेका छन्।

भेनेजुएलाको नयाँ संविधान लेख्ने उक्त संविधानसभाको चुनावमा ८० लाखभन्दा बढी मतदाताले मत खसालेको अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति मडुरोले आफ्ना पूर्ववर्ती ह्युगो चाभेज सत्तामा पुगेयता अहिले सबैभन्दा बढी मत खसेको प्रतिक्रिया दिएका छन्।

विपक्षीहरुले आइतबारको चुनावलाई मान्यता दिन अस्वीकार गरिरहेका छन्।

हिंसा

उनीहरुले आफूले गराएको अनौपचारिक जनमतसंग्रहमा ७० लाख मतदाताले संविधानसभालाई अस्वीकृत गरिदिएको बताएका छन्।

राष्ट्रपति मडुरोका दक्षिणपन्थी विपक्षीहरुले नयाँ सभाले आफूहरुको बहुमत रहेको कंग्रेसलाई छायाँमा पार्ने बताएका छन्।

मतदानको दिन भएका हिंसामा चार महिनायताकै उच्च अर्थात् १० जनाको ज्यान गएको थियो।

तस्वीर कपीराइट EPA

अधिकारीहरुले साढे ४१ प्रतिशत मतदाताले भोट हालेको जनाएका छन्।

तर धेरै आलोचकहरुले सरकारले उपलब्ध गराएका विवरणको सत्यतामाथि प्रश्न उठाएका छन्।

राष्ट्रपति मडुरोमाथि सत्ता कब्जा गर्न खोजेको आरोप छ।

देशभित्र र बाहिर भइरहेका विरोध र विपक्षी तथा प्रहरीबीच भएका झडपका बीच चुनाव गराइएपछि कैयौँ ठाउँमा हिंसा भड्किएका थिए।

मतदान सकिएलगत्तै विजयी घोषणा जस्तो सुनिने गरी मडुरोले टेलिभिजन सम्बोधन गरेका थिए।

खराब

बीबीसीकी दक्षिण अमेरिका सम्पादक केटी वाट्सन भन्छिन्, दशौँ लाख भेनेजुएलाका जनताले बहिष्कार गरेकाले मडुरोका लागि चुनावमा खोक्रो जित हुने देखिन्छ।

उनले महिनौंदेखिका विरोधलाई शान्तिपूर्ण रुपमा समाधान गर्न चुनाव नै एकमात्र विकल्प भएको बताउने गरेका थिए।

तस्वीर कपीराइट Reuters

तर विपक्षीहरुले उक्त चुनावलाई सत्ता हत्याइरहने सरकारको प्रयास भनेका छन्।

विपक्षीहरुको नियन्त्रण रहेको क्षेत्रमा आइतवार मानिसहरुले सडकमा अवरोध तेर्साएका थिए र आन्दोलनकारी र प्रहरीबीच झडपहरु भएका थिए।

अधिकारीहरुको अश्रु ग्यास र रबरका गोलीको जवाफमा प्रदर्शनकारीहरुले ढुङ्गा हानेका थिए।

ब्रजिलसहित भेनेजुएलाका कैयौँ ल्याटिन अमेरिकी छिमेकीले मतदानको आलोचना गरेका छन्।

र, संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा तानाशाही लाद्ने योजनाविरुद्ध 'तत्कालै कडा कदम' प्रतिक्रिया जनाउँदै चुनावको निन्दा गरेको छ।

बीबीसीकी दक्षिण अमेरिका सम्पादक केटी वाट्सन भन्छिन्, भेनेजुएलाको अहिलेको संकट नराम्रो मात्रै हुनसक्छ तर आगामी दिनमा यो अझै खराब भएर जाने ठानिएको छ।