उत्तर कोरियाली "चेतावनी"बारे ट्रम्प-आबे संवाद

  • 31 जुलाई 2017
क्षेप्यास्त्र प्रतिरोधी प्रणाली तस्वीर कपीराइट Reuters
Image caption अमेरिकाले दक्षिण कोरियासँग मिलेर 'थाड' भनिने क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको समेत परीक्षण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबे उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमले "गम्भीर र बढ्दो चेतावनी" दिएको विषयमा एकमत भएको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट् हाउसका अनुसार उत्तर कोरियाले शुक्रबार परीक्षण गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र र त्यसले निम्त्याउन सक्ने सुरक्षा चुनौतीका विषयमा दुई नेताबीच टेलिफोनमा कुराकानी भएको छ।

उत्तर कोरियाले शुक्रबारको परीक्षण लगत्तै पूरै अमेरिकी भूभाग अब आफ्नो क्षेप्यास्त्रको पहुँचमा पुग्न सक्ने दाबी गरेको थियो।

टेलिफोन कुराकानीमा ट्रम्प र आबे उत्तर कोरियामाथि आर्थिक र कूटनैतिक दबाब जारी राख्ने विषयमा सहमत भएको बताइएको छ।

जापानी पक्षका अनुसार दुई नेताबीच सैन्य कारबाहीबारे कुनै कुराकानी भएन।

तनाव

यसै विषयमा दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले छिट्टै अमेरिकी राष्ट्रपतिसँग छलफल गर्न लागेको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन्।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई लिएर चिन्ताहरु व्यक्त भइरहँदा अमेरिकाले त्यस विषयमा संयुक्त राष्ट्रसंघमा सुरक्षा परिषदको बैठक समेत नडाक्ने बताएको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीको भनाइमा अन्तर्राष्ट्रिय समुदाय उत्तर कोरियालाई चुनौती दिन तयार नभएसम्म त्यस्तो बैठकले कुनै अर्थ राख्दैन।

एक वक्तव्यमा हेलीले भनिन्, "उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय दबाब नथप्ने खाल्को अर्को सुरक्षा परिषदको प्रस्तावले कुनै अर्थ राख्दैन।"

उनले अब चीनले महत्वपूर्ण निर्णय लिने बेला आएको बताइन्।

उत्तर कोरियाली परीक्षण लगत्तै अमेरिकाले कोरियाली प्रायद्वीप माथिको आकासमा बम वर्षक विमान उडाएको छ। उस्ले दक्षिण कोरियासँग मिलेर 'थाड' भनिने क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको समेत परीक्षण गरेको छ।