तरकारीमा विषादीको जोखिम कति?

  • 31 जुलाई 2017
तरकारी बजार
Image caption कालीमाटीको तरकारी बजारमा अचेल विषादीको परीक्षण गर्ने गरिन्छ।

तरकारी तथा फलफूलमा लाग्ने रोग र किराका विरुद्ध जथाभावी विषादी प्रयोगका कारण खासगरी शहरी क्षेत्रका वासिन्दाको स्वास्थ्य जोखिममा परेको अधिकारीहरु बताउँछन्।

तरकारीको विशेष खेती हुने क्षेत्रमा प्रयोग हुने विषादी र विषादी छर्किएका तरकारी समय अगावै बजारमा ल्याइने गरेकाले जोखिम बढेको बताइन्छ।

त्यस्ता विषादीको अवशेष बाँकी रहेको तरकारी उपभोग गर्दा विभिन्न कडा रोग लाग्न सक्ने विज्ञहरु बताउँछन्।

इतिहास

औलो उन्मूलनका लागि सन् १९५२ तिर अमेरिकाबाट मगाइएको डिडिटि नै औद्योगिक रुपमा उत्पादित विषादीको नेपालमा भएको पहिलो प्रयोग मानिन्छ।

त्यसयता क्रमैसंग त्यसको प्रयोग बढ्दै गएको छ।

तर त्यसको द्रुत प्रयोग हुन थालेको भने धेरै भएको छैन।

गत दुई दशक यताको आँकडा मात्र हेर्ने हो भने पनि त्यतिखेर देशभर जम्माजम्मी १९ टन विषादी आयात भएको बताइन्छ। जबकि गत वर्ष त्यसको तीस गुणा बढी करिब ५७० टन विषादी आयात भयो।

नेपालमा आयात हुने कूल विषादीमध्ये झण्डै ८५ प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने गरेको बताइन्छ।

अंककै कुरा मात्र गर्ने हो भने चाहिं अझै पनि नेपालमा विषादीको प्रयोग न्यून नै देखिन्छ। कूल औसतमा यहाँ प्रति हेक्टर बालीमा ३९६ ग्राम विषादी प्रयोग हुने आँकडा छ। जबकि चीनमा त्यो औसत साढे दुई किलो छ भने दक्षिण कोरियामा साढे १६ किलो।

तर के यो आँकडाले सही तस्वीर देखाउँछ?

विगतमा विषादी प्रयोगबारे अध्ययन समेत गरेका कृषिमन्त्रालयमा लामो समय काम गरेर अवकाशप्राप्त पूर्व सचिव हरि दाहालका अनुसार त्यसले सही तस्वीर देखाउँदैन।

Image caption तरकारी खेती धेरै हुने क्षेत्रहरुमा विषादीको प्रयोग बढी हुने गरेको कतिपय विज्ञहरुले बताएका छन्।

"उपत्यका वरपर गरेको अध्ययनमा गोलभेंडा प्रति हेक्टरमा १४ किलो अनि सर्लाहीमा ९ किलो सम्म विषादी प्रयोग भएको पाइयो। त्यसैले हामीले भान्छामा पाउने तरकारी त्यो ३९६ ग्राम मात्र विषादी प्रयोग भएको ठाउँबाट आउँदैन," उनले भने।

नेपालमा तरकारी खेती हुने विशेष पकेट क्षेत्रहरुमा अत्यधिक र जथाभावी विषादी प्रयोग हुने हुनाले देशभरको औसतलाई देखाएर जोगिन नसकिने उनको भनाइ छ।

तरिका गलत

खासगरी विषादीको प्रयोग आधुनिक कृषिको एक अहम अंग नै हो। तर त्यसको प्रयोग गर्दा अपनाउनुपर्ने सही विधि नअपनाइंदा समस्या आइपरेको सरकारको भनाइ छ।

तर पनि देशका सात ठाउँमा राखिएका विषादी निरीक्षण इकाइहरुको परिणामले उपभोक्ताले प्रयोग गर्ने तरकारीमा विषादीको अवशेष न्यून पाइएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए।

"हामीले सातै प्रदेशका विभिन्न ठाउँमा विषादी प्रयोगको अवस्था हेर्‍यौं। त्यसो गर्दा विषादी प्रयोग न्यून पायौं। उपभोग गर्नलाई त्यस्तो डर मान्नुपर्ने अवस्था छैन," कार्कीले बताए।

उनका अनुसार गएका वर्षहरुमा देशभित्रै तरकारीको उत्पादन बढेको यथार्थलाई मनन गर्दा विषादीको प्रयोग परिमाणको दृष्टिले धेरै देखिएपनि खतरनाक छैन।

तर यहाँ विषादीको प्रयोगको परिमाणभन्दा पनि पद्धति वा तरिका खतरनाक भएको कृषि विद् नीलकण्ठ शर्माको विश्लेषण छ।

उनी भन्छन् तरिका नमिलाउँदा विषादी प्रयोग गर्ने किसान र उपभोक्ता दुवै जोखिममा छन्।

"विषादीको प्रयोग गर्ने बेला सुरक्षित उपाय अपनाइंदैन। पञ्जा, मास्क, चश्मा लगाएर अनि मौसम हेरेर मात्र विषादी हाल्नुपर्छ। साथै कुन विषादी कुन बेला प्रयोग गर्नुपर्छ भन्ने चेतना पनि छैन। त्यसमाथि जान्नेले भन्दा नजान्नेले विषादी हालेर पनि समस्या भएको छ," शर्माले बताए।

एउटा उदाहरण दिंदै उनले तालिम लिनेबेला घरमूली आउने तर खेतमा कामदारले वा घरका अन्य सदस्यले विषादी हाल्ने गरेको अवस्था चित्रण गरे।

तरकारीमा किन बढी जोखिम?

त्यत्तिकै गम्भीर समस्या विषादी हालिसकेपछिको अवस्थामा रहेको उनले बताए।

धान, गहुँ जस्ता अन्नबालीमा विषादी हालेपनि त्यो उपभोक्ताकहाँ निकै समयपछि मात्र पुग्ने हुनाले त्यसको अवशेष न्यून रहन्छ।

तर तरकारीको हकमा स्थिति त्रासपूर्ण रहेको उनी बताउँछन्।

"धानमा प्रयोग हुने विषादीले बरु वातावरण वा पानीमा असर पर्ला। उपभोक्ताकहाँ पुग्दा सम्म त्यसको अवशेष न्यून हुन्छ। तर तरकारीमा विषादी प्रयोगपछि ३ देखि ३० दिनसम्म कुर्नुपर्छ। तर कृषकले बजारभाउ पाइयो भने त्यो समय नकुरिकनै बेच्ने हुँदा त्यसले सिधै मानिसको स्वास्थ्यमा असर गर्छ," शर्माले भने।

विज्ञहरु भन्छन् विषादी स्वास्थ्यमा प्रवेश गरेमा कलेजो, मृगौला देखि लिएर क्यान्सर सम्मको बिमारी हुन सक्छ।

कमसेकम उपभोक्ताले चम्किला बेमौसमी तरकारीको साटो मौसमी हरिया सागसब्जी प्रयोग गर्ने र बजारबाट ल्याएका तरकारीलाई राम्रोसंग सके नुन पानीले धुने गरे विषादीको अवशेष त्यसबाट हटाउन सकिने उनले सुझाव दिएका छन्।

कृषि उत्पादकत्व बढाउने अनि तरकारीमा पूर्ण आत्मनिर्भर हुने नीति रहेको हुँदा विषादीको प्रयोग पूरै निषेध गर्न नसकिएपनि त्यसको सही तरीका जाने तथा जैविक एवं प्रांगारिक विषादीका विकल्प प्रयोग गर्न सके त्यसको नकारात्मक असरबाट केही हदसम्म बच्न सकिने बताइएको छ।