भेनेजुएलाको विवादित निर्वाचनको आलोचना

  • 31 जुलाई 2017
विरोध प्रदर्शन तस्वीर कपीराइट Reuters

भेनेजुएलाका निर्वाचन अधिकारीहरुले संविधानसभाको विवादित निर्वाचनमा ४१.५ प्रतिशतले मतदान गरिएको बताएपनि विपक्षी दलले भने ८८ प्रतिशतले मतदान बहिष्कार गरेको बताएको छ।

उसले निर्वाचनको नतीजालाई अस्वीकार गर्दै सोमबार थप विरोध प्रदर्शन गर्न आह्वान गरेको छ।

राष्ट्रपति निकलस मदुरोले भने सो निर्वाचनलाई "क्रान्तिको पक्षको मत" भन्दै स्वागत गरेका छन्।

आइतबारको त्यो मतदानका क्रममा व्यापक हिंसा भएको थियो र १० जना मारिएका थिए।

धाँधली

काराकासबाट बीबीसीकी दक्षिण अमेरिकी संवाददाता केटी वाट्सन भन्छिन, "नतीजा आएपछि राष्ट्रपति मदुरोले टेलिभिजनमा लाम्रो समयसम्म बोलेका थिए।

त्यो उनको र उनका समर्थकको विजयको भाषण थियो, तर दिनभर सडकमा हिंसा भएपछि त्यसलाई विजय मान्न सकिन्छ कि सकिन्न भन्ने कुरामा नै शंका छ।"

उनले सो मतदानलाई प्रजातन्त्रको उदाहरण भनेतापनि आलोचकहरुले उनीमाथि धाँधली गरेको र मतदातालाई डर देखाएको आरोप देखाएका छन्।

मतदाताको संख्यामाथि पनि धेरैले विश्वास गरेका छैनन्।

आक्रोश

आइतबार काराकासका प्रदर्शनमाथिको प्रतिबन्धलाई तोडेर सडकमा अवरोध खडा गरि प्रहरीलाई पर्खिरहेका मानिसबीच त्यो आक्रोश स्पष्ट देखिएको छ।

यस्तो दृश्य भेनेजुएलामा देखिएको धेरै महिना भइसकेको छ र भविष्यमा पनि त्यो जारी रहने अनुमान गर्न सकिन्छ।

भेनेजुएलाका मानिसले संविधानसभाका ५०० प्रतिनिधिको चुनाव गर्नुपर्ने थियो।

राष्ट्रिय निर्वाचन परिषदकी प्रमुख टिबिसे लुसेनाले ८० लाख भन्दा बढी मानिसले मतदान गरेको भन्दै राष्ट्रपति मदुरोकी पत्नी सिलिया फ्लोरीस र उनका नजीकका सहयोगीहरु निर्वाचित भएको घोषणा गरेकी थिइन्।

अस्वीकार

मतदान बहिष्कार गरेको विपक्षी दल लगायत धेरैले सो घोषणाप्रति आक्रोशित प्रतिकृया दिएका थिए।

विपक्षी नेता हेनरी रामोस अल्यपका अनुसार २५ लाख भन्दा कम मानिसले मतदान गरेका थिए।

निर्वाचनभन्दा दुइ हप्ता अघि विपक्षी दलले संविधानसभाको आवश्यकता छ कि छैन भन्ने प्रश्नमाथि अनौपचारिक जनमतसंग्रह गरेको थियो।

विपक्षी दलको आँकडा अनुसार सात लाख भन्दा बढी मानिसले संविधानसभालाई नै अस्वीकार गरेका थिए।

डर

सरकारी कर्मचारीलाई अनिवार्य मतदान गर्ने आदेश दिइएको हल्ला चलेको थियो।

त्यसैले मतदाताको संख्यालाई सरकारको समर्थनको सूचकको रुपमा लिइएको छ।

तर थुप्रै प्रकृया पूरा नगरिएको हुनाले सरकारी आँकडा माथि विश्वास गर्न नसकिने विपक्षीको भनाई छ।

मतदाताहरुको औंलामा नमेटिने रंग लगाइएको थिएन र स्वतन्त्र पर्यवेक्षक पनि थिएनन्।

राष्ट्रपति मदुरोले संविधानसभाको माध्यमबाट आफ्नो सत्ता सुदृढ गर्ने र लम्ब्याउने कोशिश गर्नसक्ने सरकारका आलोचकको डर छ।