टर्कीमा गत वर्षको कू सम्बन्धी मुद्दाको सुनुवाई

  • 1 अगस्ट 2017
टर्की तस्वीर कपीराइट AFP

टर्कीमा गत वर्ष भएको असफल कूको प्रयासमा संलग्न भएको ठानिएका करिब ५०० मानिसहरुको मुद्दाको सामूहिक सुनुवाइ शुरु भएको छ।

प्रमुख योजनाकार ठानिएका ४० जनालाई प्रहरीको निगरानीमा ल्याइँदा राजधानी अंकारास्थित अदालतबाहिर नाटकीय दृश्य देखिएका थिए।

कूको योजना बनाएको आरोप लगाइएका अमेरिकास्थित धर्मगुरु फेतुल्लाह गुलेन लगायत थुप्रै मानिसमाथि उनीहरुको अनुपस्थितिमै मुद्दा चलाईंदै छ।

सरकार समर्थकहरु र कूका क्रममा मारिएका मानिसका नातेदारले हतकडी लगाइएका संदिग्ध मानिसप्रति नकारात्मक टिप्पणी गरेका थिए र केहीले फाँसीको फन्दा उनीहरुतर्फ फ्याँकेका थिए।

मुद्दा

योजनाकारहरुले राष्ट्रपतिको हत्या गर्ने कोशिस गरेको मुद्दा लागेको छ।

विद्रोही सेनाले सन् २०१६ को जुलाईमा शक्तिमा आउने प्रयास गरेका थिए।

जसका कारण २४९ सर्वसाधारण मारिएका थिए।

कू भएको रात सेनाका प्रमुख जेनरल हुलुसी आकार र अन्य विशिष्ट अधिकारीहरु केही घन्टाका लागि बन्दी बनाइएका थिए।

तस्वीर कपीराइट AFP

सजाय

यो सुनुवाई उक्त असफल कूसंग सम्बन्धित अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

दोषी ठहर भएकाहरुलाई जन्म कैदको सजाय दिइने अनुमान गरिएको छ।

टर्कीमा सन् २००४ देखि मृत्यु दण्डको सजाय हटाइएको थियो।

त्यतिखेर विद्रोहीहरुले राष्ट्रपति रेजेप ताय्यिप अर्दोआनलाई अपदस्थ गर्ने कोशिश गर्ने क्रममा अंकारा देखि उत्तर पूर्व रहेको आकिन्ज हवाई अड्डाबाट संसदमा बम प्रहार गर्ने निर्देशन दिइएको बताइएको थिइयो।

आशंका

उक्त असफल प्रयासपछि हजारौं मानिस गिरफ्तार भएका थिए।

जसमध्ये धेरैको सम्पर्क अमेरिकामा निर्वासनमा रहेका धर्मगुरु फेतुला गुलेन संग रहेको आशंका गरिएको थियो।

मुख्य योजनाकार भनी आरोप लागेका गुलेनको अनुपस्थितिमा नै उनी माथि मुद्दा चलाइराखिएको छ।

अर्दोआनका आलोचकहरुले उनले व्यापक कारबाही गरेर राजनीतिक विरोधीहरु दबाउन खोजेको बताएका छन्।