भेनेजुएलामा दुई विपक्षी नेता पुनः पक्राउ

  • 1 अगस्ट 2017
पक्राउ तस्वीर कपीराइट AFP/Geetty Images

भेनेजुएलाका प्रमुख दुई विपक्षी नेताहरु लियोपोल्दो लोपेस र एन्टोनियो लेडेज्मालाई पुनः पक्राउ गरिएको उनीहरुका आफन्तले बताएका छन्।

यसअघि सन् २०१४ मा सरकारविरोधी प्रदर्शनका क्रममा हिंसा गर्न उक्साएको आरोपमा दुई नेतालाई उनीहरुकै घरमा नजरबन्दमा राखिएको थियो।

परिवारका सदस्यहरुले पुनः पक्राउ गरी उनीहरुलाई कहाँ लगिएको भन्नेबारे केही थाहा नभएको बताएका छन्।

लोपेसकी श्रीमतीले स्थानीय समयअनुसार करिब साढे १२ बजे घरबाट लोपेसलाई लगिएको बताएकी छिन्।

गुप्तचर

गुप्तचर निकायका अधिकारीहरुले उनलाई लगिरहेको एउटा भिडिओमा देखिएको छ।

लेडेज्माकी छोरीले पनि आफ्ना बुबालाई गुप्तचर निकायका अधिकारीहरुले लगिरहेको भिडिओ राखेकी छन्।

संविधानसभाको विवादास्पद चुनावका क्रममा भएको हिंसामा १० जना मारिएको दुई दिनपछि विपक्षी नेताहरुलाई पुनः पक्राउ गरिएको खबर प्रकाशमा आएको हो।

राष्ट्रपति निकोलास मडुरोले संविधान पुनर्लेखनका लागि भन्दै संविधानसभाको निर्वाचन गराएका हुन्।

ध्रुवीकृत

संविधान पुनर्लेखनले देशमा शान्ति बहाली गर्ने र ध्रुवीकृत समाजलाई एकढिक्का हुनका निम्ति संवादको वातावरण सिर्जना गर्ने मडुरोको तर्क छ।

तर त्यसले सत्तामा मडुरोको पकड झन् सुदृढ बनाउने र संसद्लाई पाखा लगाउने विपक्षीहरुले बताउँदै आएका छन्।

तीन वर्ष जेलमा राखिएका लोपेसलाई गत जुलाइ ८ तारिखदेखि उनको घरमै नजरबन्दमा राखिएको थियो।

संविधानसभाको निर्वाचन हुनु केही दिनअघि पहिलोपटक उनले रेकर्ड गरिएको एउटा भिडिओमा मडुरोले लोकतन्त्रलाई खतरामा पार्न लागेको बताएका थिए।