विभाजनले न भारत न पाकिस्तान खुशी भए

  • 1 अगस्ट 2017
विभाजन तस्वीर कपीराइट Getty Images

भारत र पाकिस्तानको विभाजन भएको ७० वर्ष भएको छ। ब्रिटिश गभर्नर लर्ड माउन्टब्याटनका पालामा कसरी ती दुई राष्ट्रहरु निर्माण गरिएका थिए? विभाजनले कस्तो उथलपुथल ल्यायो?

७० वर्ष अघि अंग्रेजको बहिर्गमनसँगै भारतमा ब्रिटिस साम्राज्यको अन्त्य भयो।

ब्रिटिश साम्राज्यको सबैभन्दा ठूलो र महत्वपूर्ण उपनिवेश भारतबाट अलग्गिने क्रममा उसले एउटा मात्र होइन दुईवटा मुलुकको निर्माण गरिदियो।

एउटा त्यस्तो विभाजन जसले २०औं शताब्दीकै सबैभन्दा गम्भीर मानवीय संकट निम्त्यायो।

विभाजनपछि झण्डै ४० करोड जनसंख्या भारतमा रहे जसमध्ये अधिकांश हिन्दू थिए र त्यहाँ कूल जनसंख्याको एक तिहाई मात्र मुसलमान थिए।

अडान

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले धर्मका आधारमा मुलुक विभाजन गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए।

तर पाकिस्तानका गभर्नर जनरल बनेका मोहम्मद अलि जिन्नाहले मुसलमानहरुका लागि छुट्टै राष्ट्र चाहिने अडान राखेका थिए।

'विभाजन र स्वतन्त्रता संगसंगै आए,' एक जना ब्रिटिश अधिकारीले भने, 'एउटाको मूल्यका रुपमा अर्को।'

ब्रिटेनको राजपरिवारसंग नजिकको सम्बन्ध रहेका लर्ड माउन्टब्याटनलाई आफ्नो सबैभन्दा ठूलो उपनिवेशवाट ब्रिटेनलाई बाहिर निकाल्ने जिम्मेवारी सुम्पिएको थियो।

छोटो समयमा गर्नु नै सबभन्दा उपयुक्त हुने उनको विचार थियो। त्यसैले केवल पाँच हप्तामा विभाजनको रेखा कोरियो।

कोही खुशी भएनन्

सन् १९४७को अगस्त महिनामा पाकिस्तानले पहिला र भारतले क्रमिक रुपमा अर्कोदिन स्वतन्त्रता दिवस मनाए।

दुईदिनपछि दुई देशको सिमावर्ती क्षेत्रबाट जव विभाजनको घोषणा गरियो कसैले पनि खुशी व्यक्त गरेनन्।

जिन्नाहले दुईतीर रहेको र बीचमा दुई हजार किलोमिटर लामो भारतीय भूभाग पर्ने 'धमिरा लागेको' पाकिस्तान दिईएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

तस्वीर कपीराइट Getty Images

सन् १९७१ मा पूर्वी पाकिस्तान चाहिं बांग्लादेशको रुपमा अर्को स्वतन्त्र राष्ट्र मुलुक बन्यो।

भारत र पाकिस्तानको स्वतन्त्रताको क्रममा हिन्दू र मुसलमानबीच थुप्रै झडपहरु भए।

तर कसैले पनि विभाजनले त्यस्तो अराजक स्थिति निम्त्याउला भनेर सोचेका थिएनन्।

झण्डै एक करोड २० लाख शरणार्थी एक नयाँ देशबाट अर्कोमा शरणका लागि गए।

त्यसक्रममा करिब ५ देखि १० लाखजति विभिन्न समुदायका मानिसहरु मारिए।

दशौं हजार महिलाहरु अपहरित भए।

त्यसयता कहिल्यै पनि भारत-पाकिस्तानबीचको सम्बन्ध विभाजनको आघातवाट सामान्य अवस्थामा फर्किन सकेको छैन।

दुबै मुलुकले कश्मीरलाई आफ्नो भनी दाबी गर्छन्।

स्वतन्त्रताको केही साताभित्रै कश्मीरको स्वामित्वलाई लिएर दुई देश लड्न थाले।

एउटा त्यस्तो संघर्ष जुन सुल्झिन सकेको छैन … एउटा दोषपूर्ण विभाजनको अपूरो कथा।