पाकिस्तानमा नयाँ प्रधामन्त्री निर्वाचित

  • 1 अगस्ट 2017
अब्बासी तस्वीर कपीराइट EPA

पाकिस्तानका भूतपूर्व पेट्रोलियम मन्त्री शाहिद खकान अब्बासीलाई देशको नयाँ प्रधानमन्त्री चुनिएको छ।

पूर्व प्रधानमन्त्री नवाज शरीफले एउटा भ्रष्टाचार प्रकरणपछि गत हप्ता राजीनामा दिएका थिए।

उनले मंगलबारै शपथग्रहण गर्नेछन्।

नवाज शरीफका भाइ शाहबाजले त्यो पद ग्रहण गर्ने अवस्था नभएसम्म अस्थायी रुपमा अब्बासी सो पदमा रहुन् भन्ने सत्तारुढ पिएमएल-एन पार्टीको चाहना छ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री शाहबाजले संसदीय उपनिर्वाचन जितेपछि मात्रै प्रधानमन्त्री पदका लागि योग्य हुनेछन्।

निर्वाचन

३४२ सदस्यीय राष्ट्रिय संसदले अब्बासीलाई २२१ मतले प्रधानमन्त्री निर्वाचित गरेको हो।

विपक्षी समूहहरुले पनि सो पदका लागि उम्मेदवार मनोनित गरेका थिए तर संसदमा सत्तारुढ पाकिस्तान मुस्लिम लीग - नवाज पार्टीको बहुमत छ।

नवाज शरीफको ठाउँमा खाली भएको स्थानका लागि उनका भाइ शाहबाज शरीफले लड्ने अनुमान गरिएको छ तर त्यो प्रकृया पूरा हुन कम्तिमा ४५ दिन लाग्नेछ।

विगत सम्बन्ध

नवनियुक्त प्रधानमन्त्री अब्बासी नवाज शरीफका पुराना साझेदार हुन्।

सन् १९९९ मा सेनाले शरीफलाई अपदस्थ गरेर उनको दोस्रो प्रधानमन्त्री कार्यकाल समाप्त गरिदिँदा अब्बासीलाई दुइ वर्षको जेल सजाय दिइएको थियो।

सर्वोच्च अदालतले उनलाई पदका लागि अयोग्य घोषणा गरेपछि शरीफले शुक्रबार राजीनामा दिँदै आफ्नो तेस्रो कार्यकालको अन्त्य गरेका थिए।

भ्रष्टाचार आरोप

सन् २०१५ मा चुहिएका पनामा पेपर्समा नवाज शरीफका परिवारजन लण्डनस्थित विलासी भवन र कर छलीका लागि विदेशमा खोलिएका खातासंग सम्बन्धित देखिएका थिए।

ती सम्पत्ती उनको परिवारको सम्पत्ती विवरणमा खुलाइएका थिएनन्।

त्यस्तो खुलासामाथि भएको अनुसन्धानपछि अदालतले शरीफलाई अयोग्य घोषित गरेको हो।

अदालतको सुझाव

सन् २०१३ को आमनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा शरीफले एउटा दुबइस्थित कम्पनीबाट आएको आम्दानी नखुलाएकाले उनी इमानदार नभएको अदालतले बताएको छ।

अदालतले शरीफ लगायत उनकी छोरी मर्यम, ज्वाईं सफदर, अर्थमन्त्री इशाक दर र अरु थुप्रै मानिसमाथि भ्रष्टाचारका मुद्दा चलाइनुपर्ने सुझाव दिएको छ।

सन् १९८० को दशकदेखि शरीफमाथि भ्रष्टाचारका आरोप लागेका छन् तर उनले ती आरोप अस्वीकार गरेका छन्।