'विदेशी जेलमा परेका नेपालीलाई कानूनी सहायता'

  • 1 अगस्ट 2017
कामदार

वैदेशिक रोजगारका क्रममा विभिन्न आरोपमा जेलमा परेका नेपालीका लागि नेपाल सरकारले सम्बन्धित देशमै वकिल खटाएर कानूनी परामर्श उपलब्ध गराउने अधिकारीहरुले जनाएका छन्।

कानूनमा हालै गरिएको परिवर्तनसँगै उनीहरुले त्यस्तो सरकारी सहयोग पाउने बाटो खुलेको बताइएको छ।

सरकारी तथ्याङ्क अनुसार तीन सयभन्दा धेरै नेपाली विभिन्न देशका जेलमा छन्।

विदेशमा जेल परेका नेपालीलाई सरकारले परामर्श उपलब्ध गराउने र रिहाइको पहल गर्ने कामको शुरुवात गत वर्ष देखिनै गरिए पनि ठोस कानुनी व्यवस्था हुन सकेको थिएन।

पहुँच हुने र चर्चा पाएका घटनामा परेकाहरुको मात्रै रिहाइको पहल भएको गुनासो आउने गरेको थियो।

अधिकार र दायित्व

तर वैदेशिक रोजगार नियमावलीमा गरिएको पछिल्लो संशोधनले त्यो सरकारको दायित्वभित्र पारेको र जेलमा परेका नेपालीको अधिकारका रुपमा स्थापित गरिदिएको बताइएको छ।

रोजगार प्रवर्द्धन बोर्डका निर्देशक रघुराज काफ्लेका अनुसार नियमावलीको व्यवस्था अनुरुप नेपाली कामदार रहेका देशका नेपाली दूतावासमा कानूनी सेवाका लागि वकिल राख्ने काम अघि बढाइएको छ।

उनले भने, "कानूनी प्रतिरक्षाका लागि वकिल राख्ने प्रक्रिया अगाडि बढाउन दूतावासलाई केही बजेट पठाएर पत्राचार गरिएको छ, उनीहरुले आवश्यक तयारी गरिरहेका छन्। छिट्टै नै नेपालीलाई सहायता दिन सक्छौं।"

सरकारले स्थानीय कानून र भाषा जानेका वकिल राखिने र सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने उनको भनाइ छ।

यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन आवश्यक निर्देशिका मस्यौदा गरेर श्रम तथा रोजगार मन्त्रालयमा पठाइसकिएको बताइएको छ।

महत्वपूर्ण

नियमावलीको पछिल्लो संशोधनले जेलमा रहेका नेपाली कामदारलाई हुने फाइदाबारे निर्देशक काफ्लेले भने, "आफूलाई निर्दोष प्रमाणित गर्न अन्तिमसम्म प्रयत्न गर्नसक्ने अवसर प्राप्त हुन्छ। झुटो अभियोग लागेका अथवा गलत मनसायबाट फसाइएका कोही नेपाली जेलमा अथवा प्रहरी हिरासतमा छन् भने उनीहरुलाई छुटाउन यो व्यवस्थाले निकै महत्वपूर्ण छ।"

विगतमा आंशिक कानूनी परामर्श सेवा दिने गरेका दूतावासले भोगेको आर्थिक अभाव पनि अब अन्त्य हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, "कानूनी सहायता उपलब्ध गराउन हामीसँग साधन स्रोत हुन्छ, उद्धार गरेर तत्कालै फिर्ता ल्याउनु पर्यो भने पनि साधन स्रोतको अभाव हुँदैन।"

प्रचण्ड नेतृत्वको सरकारका पालामा विभिन्न दूतावासबाट संकलन गरिएको आँकडा अनुसार ३ सय १८ जना नेपालीहरु विदेशी जेलमा रहेको जनाइएको छ।

जन्मकैद

सबैभन्दा बढी साउदी अरेबियामा ६९ जना, कुवेतमा ५९ जना र कतारमा ५४ जना रहेको बताइएको छ।

उनीहरु मध्ये कतिपयविरुद्ध मृत्युदण्ड सुनाइएका छन् भने कतिपयलाई जन्मकैद तोकिएको छ।

केहीलाई एक महिनादेखि २० वर्षसम्मको जेल सजाय तोकिएको छ।

यो आँकडा अध्यावधिक गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।