विपक्षी नेतालाई तत्काल रिहा गरः ट्रम्प

  • 2 अगस्ट 2017
पक्राउ तस्वीर कपीराइट AFP/Getty Images

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको सरकारद्वारा पक्राउ गरिएका त्यहाँका प्रमुख दुई विपक्षी नेतालाई तत्काल रिहा गर्न माग गरेका छन्।

उनीहरु राजनीतिक कैदी भएको ट्रम्पले बताएका छन्।

पक्राउ गरिएका नेताहरु लियोपोल्दो लोपेस र एन्टोनियो लेडेज्माको स्वास्थ्य तथा सुरक्षामा केही भए राष्ट्रपति निकोलास मडुरोलाई आफूले व्यक्तिगत रुपमा जवाफदेही बनाउने ट्रम्पको भनाई छ।

मंगलबार एकाबिहानै ती दुई नेतालाई सैनिक कारागार लगिएको थियो।

बहिष्कार

संविधानसभाको विवादास्पद निर्वाचन बहिष्कार गर्न अपील गर्दै उनीहरुले भिडिओ सार्वजनिक गरेका थिए।

मडुरोले संविधानसभाको निर्वाचनले मुलुकलाई शान्ति र संवादको बाटोतर्फ डोर्याउने दावी गरेका छन्।

सन् २०१४ मा सरकारविरोधी प्रदर्शनका क्रममा हिंसा गर्न उक्साएको आरोपमा दुई विपक्षी नेतालाई तीन वर्ष जेलमा राखिएको थियो।

त्यसपछि जुलाइ महिनाको दोस्रो सातादेखि उनीहरुलाई घरमै नजरबन्दमा राखिएको थियो।