थाइल्याण्डका पूर्व प्रधानमन्त्रीलाई सफाई

  • 2 अगस्ट 2017
सफाई तस्वीर कपीराइट EPA

थाइल्याण्डको अदालतले ९ वर्षअघि बैंककमा भएको राजनीतिक तनावसम्बन्धी एउटा मुद्दामा पूर्व प्रधानमन्त्री सोमचाइ वोङसुवातलाई सफाई दिएको छ।

उनी पूर्व प्रधानमन्त्री थाक्सिन शिनावातका बहिनी ज्वाइँ र यिङलक शिनावातका भिनाजु हुन्।

पदमा रहेका बेला चामलमा अनुदान दिनेसम्बन्धी एउटा भ्रष्टाचारकाण्डबारे यिङलकमाथि मुद्दा चलिरहेको छ।

सोमचाइ जम्मा तीन महिना प्रधानमन्त्री पदमा बस्न पाएका थिए।

कमजोर

सोमचाइ पदमा रहुञ्जेल सरकारविरोधी प्रदर्शन चलिरह्यो र प्रदर्शनकारीहरुले हजारौं यात्रीलाई अलपत्र पार्ने गरी दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएपछि उनको शक्ति झन् कमजोर बनेको थियो।

तस्वीर कपीराइट EPA

प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए।

प्रदर्शनकारीहरुलाई तितरबितर पार्न सुरक्षाकर्मीले दमन गरेको सम्बन्धमा उनीमाथि मुद्दा चलाइएको थियो।

अदालतको आदेशलाई थाक्सिनको पार्टीका समर्थकहरुका लागि एउटा दुर्लभ जित भएको रुपमा हेरिएको छ।

समस्याग्रत

थाक्सिनको पक्षमा चलेको आन्दोलनका समर्थक र बैंककका 'संभ्रान्त'हरुबीच भएका भिडन्तमध्येका त्यो एउटा घटना थियो।

शिनावात परिवार थाइल्याण्डको समस्याग्रत राजनीतिको केन्द्रमा रहिआएको छ।

थाक्सिनले थाइल्याण्डमा १७ वर्षभित्र भएका हरेक चुनाव जितेका थिए।

भ्रष्टाचारसम्बन्धी यिङलकबारेको मुद्दाको फैसला यसै महिनाको अन्त्यतिर आउने अपेक्षा गरिएको छ र थाइल्याण्डको राजनीतिमा त्यसले ठूलो असर पर्ने बताइन्छ।