विषादी प्रयोगमा एग्रोभेटहरु पनि जिम्मेवार?

  • 2 अगस्ट 2017
विषादी

तरकारीमा जथाभावी विषादी प्रयोग हुनुमा चाहिएभन्दा बढी र निषेधित विषादी थमाउने कतिपय व्यवसायी अर्थात् एग्रोभेटको गैरजिम्मेवार र व्यापारमूखी व्यवहार जिम्मेवार भएको कतिपय कृषकहरुले आरोप लगाएका छन्।

तर विषादीको सही प्रयोगबारे सुझाए पनि अटेर गर्ने कृषकका कतिपय लान्छना अस्वीकार्य भएको विषादी व्यवसायीहरुको टिप्पणी छ।

अधिकारीहरु भन्छन् कम मात्र कृषि प्राविधिक भएको नेपालमा पेशागत मर्यादाअनुरुप विषादी व्यवसायीले जिम्मेवारी निर्वाह गरेमा यो समस्या निकै हदसम्म नियन्त्रण हुन सक्छ।

किसान किन विषादी प्रयोग गर्न वाध्य छन्?

तरकारीमा विषादीको जोखिम कति?

खर्च

देशभरमा करिब २० प्रतिशत कृषकको मात्र प्राविधिकसम्म पहुँच रहेको आँकलन गरिएको छ।

बाँकी कृषकले सिधै एग्रोभेटको सल्लाहमा विषादी प्रयोग गर्ने गरेको बताइन्छ।

मध्यपूर थिमीका सुरेश बाडेले त्यहींका एग्रोभेटसँग सल्लाह गरेर विषादी प्रयोग गर्थे।

सात वर्षसम्म काउलीमा प्रयोग गरेको एउटा विषादी अनावश्यक रहेछ भन्ने कुरा प्राविधिकलाई भेटेपछि मात्र थाहा भएको उनले बताए।

त्यस्तै भक्तपुर नंखेलका सनिस लागेजू एग्रोभेटका कारण कृषिमा अनावश्यक खर्च बढेको बताउँछन्।

"एउटै विषादीले हुने ठाउँमा पनि थरीथरीका कम्पनीको विषादी थमाइदिएर एग्रोभेटले अनावश्यक खर्च बढाइदिने गरेका छन्," उनले भने।

विषादी व्यवसायीलाई सुरक्षित प्रयोगबारे जानकारी गराउन सके धेरै कृषकहरु लाभान्वित हुने भन्दै तालिम संचालन भइरहेको बाली संरक्षण निर्देशनालयले बताएको छ।

अस्वीकार्य आरोप

एग्रोभेटहरु समयसमयमा विभिन्न कारणले विवादमा पर्ने गरेका छन्।

तर हरेक पटक व्यवसायी नै गलत नभएको विषादी व्यवसायी संघका सचिव गणेश बानियाँ बताउँछन्।

"कति किसानहरुलाई विषादीको विकल्प दिन्छौं। तर उहाँहरुलाई तुरुन्तै किरा मार्ने औषधी चाहिन्छ। पर्खने अवधि पनि मान्नहुन्न," उनले भने।

तालिम

विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले विषादी विक्रेताका रुपमा हालसम्म करिब १४ हजार इजाजत पत्र बाँडेको बताएको छ।

पहिले तीन दिनको तालिमपछि पाइने सो इजाजत पत्र अचेल ६ दिनको तालिमपछि मात्र पाइन्छ।

देशमा हाल नयाँ पुराना गरी करिब ५ हजार एग्रोभेट सञ्चालनमा रहेको बताइएको छ।

प्रत्येक जिल्लामा विषादी निरीक्षक रहने सरकारी व्यवस्था भएपनि धेरैवटा जिल्लामा सो दरबन्दी रिक्त रहेको पञ्जीकरणका अधिकारीहरु बताउँछन्।

त्यसमाथि एकजना निरीक्षक एउटा जिल्लाको लागि निकै कम भएको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका प्राविधिक कृष्ण प्रधान भन्छन्।

विषादी प्रयोगबारे कृषकलाई सचेत बनाउन सके, तालिममार्फत एग्रोभेटलाई जिम्मेवार बनाउन सके, दोषीलाई कडा सजायको व्यवस्था गरिए अनि वैकल्पिक विषादीको पर्याप्त व्यवस्थापन भए विषादीका कारण भोग्नुपर्ने समस्याबाट जोगिन सकिने विज्ञहरु बताउँछन्।