भेनेजुएलाः संविधानसभा निर्वाचनमा 'धाँधली'

  • 2 अगस्ट 2017
विरोध तस्वीर कपीराइट Reuters

भेनेजुएलामा आइतवार भएको संविधानसभाको विवादित निर्वाचनमा मतदाताको संख्या तोडमोड गरिएको आरोप लगाइएको छ।

मतदान प्रणाली उपलब्ध गराएको कम्पनीका प्रमुख एण्टोनियो मुहिकाले त्यस्तो आरोप लगाएका हुन्।

नयाँ संविधानसभाको निर्वाचनमा ८० लाखभन्दा बढी मानिसले मतदान गरेको भेनेजुएलाका निर्वाचन अधिकारीको भनाई छ।

तर मतदान प्रणाली उपलब्ध गराएको कम्पनी स्मार्टम्याटिकका प्रमुख कार्यकारी अधिकारी मुहिकाले मतदाताको संख्यामा कम्तीमा १० लाखको फरक परेको बताएका छन्।

आरोप

आफ्नो उपकरणले सही संख्या देखाएपनि राष्ट्रिय निकायले त्यो संख्या बढाएको उनको आरोप छ।

र, त्यो आँकडाको पुष्टि गर्न विपक्षी दलका कोही सदस्य उपस्थित नभएको उनको भनाई छ।

भेनेजुएलाका अधिकारीलाई त्यस्तो गल्तीबारे किन नबताएको भने सोध्दा उनले अधिकारीहरु आफूप्रति सकारात्मक नहुने बताएका छन्।

स्मार्टम्याटिक कम्पनीले मतदाताको सही संख्याको दस्तावेज राखेको भएतापनि पूर्ण परीक्षण छि मात्रै आफूले सही आँकडा दिन सक्ने मुहिकाले बताएका छन्।

विरोध

निर्वाचनमा भेनेजुएलाका मानिसलाई संविधानसभाका ५०० भन्दा बढी सभासद् चुन्नुपर्ने थियो।

चुनाव बहिष्कार गरेको विपक्षी दलले त्यसलाई राष्ट्रपति मडुरोको शक्ति हत्याउने प्रयासका रुपमा हेरेको थियो।

भेनेजुएलाको विपक्षी दलले पनि मतदाता संख्या बढाइएको आरोप लगाएको थियो।

निर्वाचनमा मतदाताको संख्यालाई महत्त्वपूर्ण मानिएको छ।

विपक्षी दलले उम्मेदवार मनोनित नगरेको हुनाले मतदाताको संख्यालाई सरकारप्रतिको समर्थनको सूचकको रुपमा हेरिएको छ।