शिक्षण अस्पतालका आवासीय डाक्टर हडतालमा

  • 2 अगस्ट 2017
डाक्टर केसी फाईल तस्वीर

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बहिरङ्ग सेवामा कार्यरत आवासीय डाक्टर बुधवारदेखि हड्तालमा उत्रिएका छन्।

डा. केसीको स्वास्थ्य कमजोर हुनथाले पनि सरकारसँगको वार्ता फलदायी हुन नसकेपछि अन्य डाक्टर समेत आन्दोलित भएका हुन्।

संसद्‌मा विचाराधीन चिकित्सा शिक्षा विधेयक शिघ्र पारित गर्ने लगायत सात बुँदे माग राख्दै डा. केसी अनशन बसेको बुधवार दशौं दिन हो।

तर सरकार गम्भीर नदेखिएको भन्दै महाराजगंजस्थित शिक्षण अस्पतालका आवासीय डाक्टर बहिरङ्ग सेवामा सहभागी नभएका हुन्।

वार्ता अस्वीकार

एकजना आवासीय डा. कश्यप श्रेष्ठ भन्छन्, "सरकारबाट गम्भीर पहल नभएको जस्तो नलागेर हामीले बहिरङ्ग सेवा र शैक्षिक कार्यक्रम बहिष्कार गरेका हौं। यस्तै हो भने हामीले थप कठोर आन्दोलनमा उत्रिने निर्णय लिन सक्छौं।"

शिक्षण अस्पतालमा करिब ३ सय आवासीय डाक्टरहरु छन्, उनीहरु आन्दोलनमा उत्रिएपछि बहिरङ्ग सेवा विशेषज्ञ डाक्टरको भरमा चलिरहेको छ।

त्यसले गर्दा अघिल्ला दिनभन्दा बिरामीले बढी समय पर्खिनु परेको बताइएको छ।

औपचारिकता

डा. केसीका प्रतिनिधिले सरकारी टोलीले बोलाएको वार्तामा बस्न अस्वीकार गरेका छन्।

एकजना प्रतिनिधि डा. अभिषेक सिंहले भने, ''सरकारी पक्षसंग हामीले फोनमा सोद्धा उहाँहरुसंग छलफलको ठोस बुँदा नभए र जहिले पनि वार्तालाई औपचारिकतामा सीमित राख्न ठीक नलागेर वार्तामा गएनौं।''

उनले अब आम नागरिकालाई आह्वान गरेर दवावमूलक कार्यक्रम सिर्जना गर्ने योजना सुनाए।

डा. केसीको पक्षमा सरकारमाथि विभिन्न क्षेत्रबाट दवाव बढ्दो छ।

यसपटक सरकारले वार्ता समिति विगतमाभन्दा छिटो गठन गरे पनि उसको प्रयास सार्थक हुन सकेको छैन।