'नारायणगढ-मुग्लिङ सडक: दशैंअघि काम सक्नू'

  • 2 अगस्ट 2017
देउवा

सडक विस्तार र मर्मत गरिसक्ने भनिएको दुई वर्ष नाघिसक्दा आधामात्र पूरा भएको नारायणगढ-मुग्लिङ सडक खण्डको काम दशैँअघि सम्पन्न गर्न प्रधानमन्त्रले निर्देशन दिएका छन्।

पहिरोका कारण जोखिमपूर्ण र जामले कष्टकर बन्ने गरेको उक्त सडक खण्डको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्तो निर्देशन दिएका हुन्।

तराईलाई राजधानी काठमाण्डूसँग जोड्ने प्रमुख सडक खण्डको सुधार निर्धारित समयमा नसिकिँदा जनगुनासो बढ्दै गएपछि प्रधानमन्त्री देउवा बुधवार आफै त्यस सडक खण्डको अवलोकनमा पुगेका थिए।

उक्त सडक खण्ड दुई वर्षमा विस्तार गर्ने लक्ष्य लिइएको थियो।

निर्देशन

तर २८ महिना बित्दा करिब ५४ प्रतिशत मात्र काम पूरा भएको छ।

यात्रुहरु ३६ किलो मिटरको उक्त सडक खण्डमा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ भने त्यस सडक खण्डको २९ ठाउँमा पहिरोको जोखिम रहेको उक्त सडक खण्डको नारायणढ मुग्लिङ सडक आयोजनाले जनाएको छ।

प्रधानमन्त्री देउवाले त्यो अवस्थाको अन्त्य गर्न आफूसँगै रहेका सरोकारवाला अधिकारीहरुलाई निर्देशन दिँदै भने, "सधैँ पहिरो आउने अवस्था रोक्नुपर्यो। दशैँ अघिसम्म चौबिसै घण्टा खुल्ने बनाउनुपर्यो।"

प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट भरतपुर ओर्लिएर गाडीमा उक्त सडक खण्डको सेती दोवानसम्म पुगेका थिए।

ढिलासुस्ती

त्यसमा पनि जलवीरेदेखि कालीखोलासम्मको भाग उच्च जोखिममा रहेको नारायणढ-मुगलिङ सडक आयोजनाले जनाएको छ।

यसअघि मन्त्री र संसद्को विकास समिति लगायतले पनि त्यस सडक खण्डको अनुगमन गरिसकेका छन्।

तर सडकको अवस्था उस्तै रहेको चालक सन्तोष थपलियाको अनुभव छ।

उनले भने, "पानी पर्दा हिलो र पानी नपर्दा धूलो हुन्छ। छिट्टै काम सक्नुपर्यो।"

पहिरो

अत्यधिक जाम र पहिरोको जोखिमलाई मध्यनजर गरेर सवारी आवागमनको निम्ति निश्चित समय तोकिएको छ।

अर्का चालकले गोकुल उप्रेतीले भने, ''१५-२० मिनेटको बाटोमा दुई अढाई घटा लाग्ने र गाडी बिग्रिने समस्या छ।''

नारायणगढ-मुग्लिङ सडक तराईलाई काठमाण्डूसँग जोड्ने महत्त्वपूर्ण सडक खण्डमा अहिलेसम्म १४१ पटक पहिरो गएको छ।

सडक आयोजनाका अधिकारीका अनुसार त्यो पहिरो हटाउन ४ सय १६ घण्टा लागेको थियो।

पहिरोमा ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।