'न्यून विन्दूमा अमेरिका रुस सम्बन्ध'

  • 3 अगस्ट 2017
अमेरीका रुस सम्बन्ध तस्वीर कपीराइट Getty Images

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुससंगको उनको देशको सम्बन्ध हालसम्मकै सबैभन्दा खतरनाक न्यून विन्दूमा झरेको टिप्पणी गरेका छन्।

मस्को विरुद्ध नयां प्रतिबन्धहरु लगाउने कानुन संसदको दुवै सदनले पारित गरेको विधायिकासंगको जारी द्वन्द्वका क्रममा उनको त्यस्तो भनाई आएको छ।

राष्ट्रपति ट्रम्पले रुसविरुद्ध प्रतिबन्ध लगाउने कानुनहरुमा त्रुटीहरु रहेको टिप्पणी गर्दै बुधबार तिनलाई अनुमोदन गरेका थिए।

रुसले ति नयां अमेरिकी प्रतिबन्धहरुलाई मस्को विरुद्ध गरिएको 'पूर्णस्तरको ब्यापार युद्ध' भनेको छ।

दण्डीत गर्न

ति कानुनहरु रुसलाई सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा सो देशले गरेको भनिएको हस्तक्षेप र युक्रेनमा उस्ले गरेका गतिविधिका लागि दण्डीत गर्नका लागि ल्याइएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले ति प्रतिबन्धहरु सम्बन्धी विधेयकको विरोध गरेका थिए, जस्मा इरान र उत्तर कोरिया विरुद्ध चालिने कदमहरु पनि संलग्न छन्।

उक्त कानुनमा राष्ट्रपतिले कंग्रेस अर्थात अमेरिकी संसदको सहमति विना ति प्रतिबन्धहरुलाई खुकुलो पार्न पाउने अधिकारलाई सिमित तुल्याइएको छ।

उक्त विधेयकलाई अनुमोदन गरेर कानुनको रुप दिनलाई हस्ताक्षर गर्दा राष्ट्रपतिले आफ्नो बक्तव्यको अन्तिम बुंदामा कंग्रेसले गल्ती गरेको भनेका छन्।

पुटिन जिम्मेवार

उनका अनुसार राष्ट्रपतिको हैसियतमा उनले विदेशी मुलुकहरुसंग कंग्रेसले भन्दा राम्रो सम्बन्ध राख्‍न सक्छन्।

विहीबार ताजा टिप्पणीहरु गर्दै राष्ट्रपति ट्रम्पले रुससंगको अमेरिकी सम्बन्धको स्तर हालसम्मकै सबैभन्दा न्यून र खतरनाक विन्दूमा पुगेको बताएका हुन्।

तर आर्कान्सो राज्यका रिपब्लीकन सिनेटर टम कटनले एमएसएनबीसी टेलिभिजनसंग बोल्दै भनेका छन्, "रुस र अमेरिकाबीचको सम्बन्ध न्यून विन्दूमा झर्नुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार छन्।"

रुसले पनि आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ।

प्रधानमन्त्री दिमीत्री मेदभेदेभले भनेका छन् अमेरीकी प्रतिबन्धहरुको प्याकेजले नयां अमेरिकी प्रशासनसंग सम्बन्ध सुधार गर्ने रुसको आशाको अन्त्य गरिदिएको छ।