चुनावमा भाग लिने कि नलिनेबारे चर्को बहस

  • 3 अगस्ट 2017
राजपा पदाधिकारी बैठक

दुई दिनदेखि चलिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा तेस्रो चरणको चुनावमा सो दलको सहभागितालाई लिएर चर्को बहस भइरहेको छ।

एकथरीले सांगठनिक क्षति जोगाउन चुनावमा सहभागी हुनु पर्ने तर्क गरेका छन्।

तर अर्काथरीले संविधान संशोधन विधेयक पारित नहुँदासम्म निर्वचान बहिस्कार गर्नु पर्ने पक्षमा मत राखेका छन्।

तराई केन्द्रित छवटा दलको एकीकरण पछि बनेको राजपा नेपालले पहिलो पटक हुन लागेको केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार पार्ने क्रममा पदाधिकारीबैठक डाकेको जनाएको छ।

धारणा

हालसम्म ६० जना भन्दा बढी पदाधिकारीले आफ्ना धारणा राखेका छन्।

अहिलेकै अवस्थामा चुनावमा भाग लिन नहुने धारणा अधिकांशको रहेको एकजना महासचिव मनिष सुमनले बताए।

उनले भने, "अधिकांश साथीले यथास्थितिमा संविधान संशोधन नभएसम्म र हाम्रा मुद्दाहरु फिर्ता नहुनजेलसम्म यो आसन्न निर्वाचन पूर्ववत झै बहिस्कार गर्नपर्छ भन्ने मान्यता राखिरहेका छन्। राजपा नेपालको अहिलेसम्म सुरक्षित मत चाहिँ हामी निर्वाचनमा जाँदैनौं भन्ने नै हो। "

बुधबार बैठक उद्घाटन गर्दै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पनि संविधान संशोधन विधेयक पारित नभएसम्म निर्वाचनमा भाग लिन नहुने धारणा व्यक्त गरेका थिए।

प्रतिवाद

तर बैठकमा उक्त मतको प्रतिवाद गर्नेहरुको कमी छैन।

उनीहरु निर्वाचनमा सहभागी भएर पनि संविधान संशोधनको पहल गर्न सकिने पक्षमा छन्।

त्यस्तै धारणा राख्ने राजपा नेपालका महासचिव जंगीलाल रायले भने, "यो सरकारले हामीलाई चुनावबाट वञ्चित गरिरहेको छ। त्यसकारणले संशोधनको कुरा नै लिएर हामी पछि पनि आन्दोलन गर्न सक्छौं, तत्कालका लागि हामी चुनावमा भाग लिनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो।"

देशका ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ।

बैठक बहिस्कार

प्रदेश नम्बर दुईमा असोजमा चुनावको मिति तोकिएकाले पनि राजपा नेपालको पदाधिकारी बैठक र केहीदिनपछि हुने केन्द्रीय समिति बैठकप्रति धेरैको चासो पाइन्छ।

चुनावलाई लिएर पार्टीभित्र जोडदार बहस चलिरहेका बेला उक्त दलका प्रदेश नम्बर पाँचका केही प्रभावशाली मानिने नेताहरुले भने बैठक बहिष्कार गरेको बताइएको छ।