बाढी, पहिरोको जोखिम बढेसँगै सतर्कता

  • 4 अगस्ट 2017
नारायणी नदी
Image caption लगातारको वर्षाका कारण नारायणी नदी, रेउखोला, बबई नदी र रानीजरुवा क्षेत्रमा जोखिम बढेको गृहमन्त्रालयले जनाएको छ।

देशका अधिकांश स्थानमा भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकोले त्यसबारे सम्बद्ध निकाय र जोखिमयुक्त समुदायलाई सजग तुल्याइएको गृह मन्त्रालयले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार मध्य र पश्चिम तराईका साथै धेरैजसो पश्चिम पहाडी भेगमा मध्यम र उच्च वर्षा हुने अनुमान गरेको छ।

मध्य नेपालको नारायणी र पश्चिमको बबई नदीमा पानी खतराको तहमा पुगेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

बाढीको त्रास बढेसंगै गृह मन्त्रालयले जोखिमयुक्त स्थानका समुदायहरुलाई पनि सतर्क रहन आग्रह गरेको छ।

बिहिबारदेखि लगातार परेको पानीका कारण नारायणी नदी, रेउखोला, बबई नदी र रानीजरुवा क्षेत्रमा पानीको सहत बढेको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको भनाइ छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा चल्ने सवारी साधन आवागमन र मानिसको हिँडडुलमा समेत रोक लगाइएको केन्द्रका अधिकृत प्रदिप राईले बताएका छन्।

'प्रतिबन्ध'

उनले भने, "चितवनको रेउखोला क्षेत्रमा चाहिँ पानीले खतराको तह नाघिसकेका कारण प्रमुख जिल्ला अधिकारीमार्फत त्यस क्षेत्रमा गाडीहरु जान प्रतिबन्ध लगाइएको छ। अनि बबईको रानीजरुवा भन्ने ठाउँको स्टेशनले खतराको तह बढेको सुचना दिएको छ।''

गृहमन्त्रालयले सुरक्षा, स्थानीय प्रशासन लगायतका निकायलाई सतर्क रहन निर्देशन दिएको छ।

जोखिमलाई मध्यनजर गर्दै सबै सरकारी निकायलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले बताए।

उनले भने, ''कुनै एक ठाउँमा बाढी आयो भने त्यसको तीनचार घण्टापछि त्यो बाढीले अर्को ठाउँको बस्तीलाई असर गर्न सक्छ, त्यसैले 'साईरन' प्रणाली कायम गरिएको छ। त्यसले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई अलिकती सुरक्षित क्षेत्रमा जान समय पुग्छ।''

भविष्यवाणी

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारपनि मध्य र पश्चिम तराईका साथै धेरैजसो पहाडी भेगमा बर्षा हुने अनुमान गरेको छ।

आगामी केही दिनसम्म देशका विभिन्न ठाउँमा मनसुन सक्रिय रहने विभागको भनाइ छ।

विभागका एक मौसमविद् सुवास रिमालले भने, ''धेरै ठाँउहरुमा घना बादलहरु बनिरहेको देखिएको छ। त्यसले गर्दा मध्यम खालको वर्षा हुने र एकदुई ठाउँमा भारी वर्षा हुने भएकोले पश्चिम र तराईका धेरै खोलाहरुको वहाव बढ्ने देखिएको छ।''

भारी वर्षासँगै पहिरोको जोखिमका कारण राजमार्गहरुमा विशेष निगरानी बढाउन निर्देशन दिइएको गृहमन्त्रालयले जनाएको छ।

बैसाखयता नेपालमा बाढीका कारण १८ र पहिरोमा परेर ३० जनाको मृत्यु भइसकेको गृह मन्त्रालयको भनाइ छ।