बाढी पहिरोमा परी १० जनाको निधन

  • 4 अगस्ट 2017
बाढी पीडित

गृह मन्त्रालयका अनुसार दुई दिनको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर १० जनाको ज्यान गएको छ।

सबभन्दा ठूलो मानवीय क्षति बाग्लुङमा भएको छ, जहाँ पहिरोले पुरिएर ६ जनाको ज्यान गएको त्यहाँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

उनले भने, 'विहीबार र शुक्रवारको अविरल वर्षाले पहिरो गएर पुरिएको अवस्थाका ६ जनाको शव हामीले उद्दार गरेर निकालेका छौं।'

विहीवार र शुक्रवार गरी भक्तपुर र स्याङजामा एक/एक जना तथा कपिलबस्तुमा दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता दीपक काफ्लेका अनुसार नवलपरासीमा बाढीले बगाएर एकजना बेपत्ता भएका छन् ।

डुबान

अविरल वर्षापछि नदीहरुमा बाढी आएसँगै तराईका केही बस्ती डुबानमा परेको प्रवक्ता काफ्लेले बताए।

उनले भने, "अविरल वर्षापछि आएको बाढीले बगाएर नवलपरासीमा एक जना बेपत्ता भएका छन् । केही बस्तीहरु डुबानमा परेर टापु जस्तो भएका छन् ।"

त्यहाँका बासिन्दालाई उद्दार गर्न सुरक्षाकर्मीको टोली खटाइएको र उनीहरुलाई खाद्यान्न बाँढ्ने काम पनि भएको प्रवक्ता काफ्लेले बताएका छन्।

पश्चिम तराईमा बबई नदीमा पानीको बहाव उच्च भएपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि प्रशासनले आग्रह गरेको बताइएको छ।

बर्दियाका नदी तटका बासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता काफ्लेले बताए।

बाढी र पहिरोका कारण विस्थापित भएकाहरुलाई तत्काल राहत दिने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ।

तर बर्षा मौसम अझै नसकिएको हुनाले सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ।

अविरल वर्षाकै कारण देशकै प्रमुख मार्ग नारायणगढ-मुग्लिन सडक खण्ड करिब दुई दिनयता अवरुद्ध भएको थियो, जुन शुक्रबार दिउँसोदेखि पुन:सञ्चालनामा आएको अधिकारीहरुले बताएका छन्।