ट्रम्पको १७ दिने बिदाले हङ्गामा

  • 5 अगस्ट 2017
ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अगष्ट महिनामा १७ दिन बिदामा बस्ने निर्णय गरेपछि त्यसले व्यापक प्रतिक्रियाहरु निम्त्याएको छ।

ह्वाइट हाउसले कामकाजी बिदा अन्तर्गत राष्ट्रपति ट्रम्पले १७ दिन न्यू जर्सी बेडमिन्स्टरस्थित उनको निजी गल्फ क्लबमा बिताउने जनाएको छ।

आफूलाई काम गर्दा कहिल्यै नथाक्ने व्यक्तिका रुपमा प्रस्तुत गर्दै आएका ट्रम्पले यति लामो समय बिदामा बस्ने निर्णय लिएपछि त्यसलाई चासोपूर्वक हेरिएको छ।

कतिपयले लामो बिदा लिएकोमा ट्रम्पप्रति व्यंग्य गरिरहेका छन्।

कारण

सन् २००४ मा लेखेको एउटा पुस्तक 'थिङ्क लाइक अ बिलियनिअर' मा ट्रम्पले सुझाव दिदैँ लेखेका थिए, "लामो बिदामा नबस्नुस। त्यस्को अर्थ के नै छ र? यदि तपाईँ आफ्नो काममा रमाइरहनुभएको छैन् भने तपाईं गलत काममा हुनुहुन्छ।"

तर राष्ट्रपति ट्रम्पको निर्णयलाई ह्वाइट हाउसमा जारी मर्मतको कामसँग पनि जोडेर हेरिएको छ।

अमेरिकी राष्ट्रपति भवनको वेस्ट विङ्ग क्षेत्रमा बस्ने सबै कर्मचारीहरुलाई २७ वर्ष पुरानो वातानुकुलित प्रणाली र भेन्टिलेशन मर्मतका लागि भवन छाड्न भनिएको ह्वाइट हाउसकी प्रवक्ता लिन्डसे वाल्टर्सले बताएकी छन्।

प्रेस कक्षमा देखिएको पानी चुहिने समस्या देखि, कार्यकारी भवनका सिँढी अनि रङ्गरोगन, कार्पेट र पर्दा फेर्ने जस्ता कामहरु पनि हुन लागेको जनाइएको छ।

तर आलोचकहरुले चाँहि आफ्नो कार्यकालको पहिलो वर्षमा पूर्व राष्ट्रपति बराक ओबामाले लिए भन्दा लगभग दुई गुणा बढी बिदा लिएको भनेर ट्रम्पप्रति कटाक्ष गरिरहेका छन्।

तुलना

यदि सप्ताहन्त नजोड्ने हो भने ट्रम्पले १३ दिन बिदा लिनेछन् तर ओबामा जम्मा ८ दिन बिदामा बसेका थिए।

तस्वीर कपीराइट Reuters

"म तपाईँहरुसँगै काम गर्नेछु, मसँग गल्फ खेल्नका लागि समय हुनेछैन्," चुनावी अभियानका क्रममा ओबामाप्रति व्यंग्य गर्दै ट्रम्पले भर्जिनियामा भनेका थिए।

सन् २००९ मा मार्थ भिनयार्डमा बिदामा बस्नुअघि ओबामाले दुईवटा बिदा लिएका थिए जसमध्ये एउटामा उनले आफ्नो सप्ताहन्त एरिजोना र कलोराडोमा बिताएका थिए।

उनले शिकागो शहरस्थित आफ्नो पारिवारिक घरमा चार दिन बिताएका थिए।

ओबामासँग तुलना गर्दा ट्रम्प ११ दिन बिदामा बसिसकेका छन्।

उनले पाम बिच फ्लोरिडा र न्युजर्सीका आफ्ना आवास र क्याम्प डेभिड म्यारीलेण्डमा रहेको विदाको समय बिताउने सरकारी परिसरमा ती दिन विताएका थिए।

विवाद

सन् २००८ मा छापिएको पुस्तक 'द अडासिटि अफ होप'मा कुनै पनि राष्ट्रपतिले लामो बिदा लिनु नहुने भन्ने धारणा राखेपछि ओबामालाई 'पाखण्डी' भन्दै आलोचना गरिएको थियो।

तस्वीर कपीराइट Reuters

गएको नोभेम्बर महिनामा '६० मिनेटस' नामक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, "एकदमै धेरै काम गर्नुपर्नेछ त्यही भएर मैले खासै बिदा लिन्छु जस्तो मलाई लाग्दैन।"

अघिल्लो महिना ट्रम्पले रिपब्लिकन सिनेटरहरुलाई ओबामाकेयर भनिने स्वास्थ्य सम्बन्धी एउटा कानून उल्टाउने आफ्नो योजनामा साथ दिन आग्रह गर्दै त्यसो नहुन्जेल बिदामा नबस्न भनेका थिए।

उक्त कानून पारित गर्न सिनेट विफल भएको थियो र गर्मीलाई ध्यान दिदैँ अमेरिकी संसद सेप्टेम्बर ५ तारिखसम्म स्थगित गरिएको छ।

व्यंग्य

बिहीबार अमेरिकी अखबार न्युजविकले आफ्नो गातामा राष्ट्रपति ट्रम्प आरामले सोफामा बसिरहेको एउटा व्यंग्य तस्वीर छाप्दै उनलाई 'अल्छी केटाको' संज्ञा दिएको छ।

उक्त अखबारले टिप्पणी गरेको छ, "अनुमान लगाउनुहोस त उनलाई केही नगरी बस्दा कति गाह्रो महसुस हुन्छ होला।"

बेडमिन्स्टरका कयौँ स्थानीयले पनि लामो बिदा मनाउने ट्रम्पको निर्णयको आलोचना गरेका छन्।

उनीहरुले सो अवधिमा सुरक्षा बढाइने हुनाले सर्वसाधारणले सास्ती खेप्नुपर्ने गुनासो गरेका छन्।

आगामी अगष्ट २० तारिखसम्म स्थानीय विमानस्थल बन्द गरिएको छ र त्यसका कारण ११० वटा विमानको उडान अवरुद्ध हुने अनि ६० वटा विमान उडानका कक्षाहरु प्रभावित हुने भनिएको छ।

अमेरिकी गुप्तचर निकायले ट्रम्प त्यहाँ बसुन्जेल सुरक्षाका लागि मानवरहित विमान 'ड्रोन' को प्रयोग गरिने जनाएको छ।

साथै राष्ट्रपतिको सवारी हुँदा बाटो खाली गराउन सकिने पनि उसले जनाएको छ।