भरतपुरमा मतगणना: प्रमुखमा एमाले अगाडि

  • 5 अगस्ट 2017
भरतपुर

मतपत्र च्यातिएपछि पुन: मतदान भएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना सकिंदा प्रमुख पदमा एमालेका देवी ज्ञवालीले अग्रता कायमै राखेका छन्।

वडा नम्बर २० को मतगणना पनि भइरहेको छ।

निर्वाचन अधिकारीहरुका अनुसार, ज्ञवालीले अहिलेसम्म ४२ हजार ६९ मत ल्याएका छन्।

मतअन्तर: १७०

ज्ञवालीकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ८ सय ९९ मत पाएकी छन्।

शनिबार मध्यरातसम्म मतगणना सकिने र लगत्तै मतपरिणाम घोषणा गर्ने तयारी भइरहेको अधिकारीहरुले बताएका छन्।

उपप्रमुखमा भने काँग्रेसकी पार्वती शाह अगाडि छिन्।

उनले ४५ हजार ८ सय २३ मत पाएकी छन्।

३८ हजार ७ सय १५ मतसहित एमालेकी दिव्या शर्मा दोस्रो स्थानमा छिन्।

पृष्ठभूमि

भरतपुरमा सत्तारुढ घटकहरु काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार उठाएका थिए।

गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय चुनावको मतगणना गर्ने क्रममा भरतपुर वडा नम्बर १९ का मतपत्र च्यातिएका थिए।

त्यसपछि मतगणना स्थगित गरिएको थियो।

त्यसले चरम राजनीतिक विवाद निम्त्याएको थियो।

उक्त विषयमा निर्वाचन आयोगले पुन: मतदान गराउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको थियो।

अदालतले हालसालै पुन:मतदान नै हुनुपर्ने फैसला गरेपछि शुक्रबार वडा नम्बर १९ मा मतदान भएको हो।

वडा नम्बर १९ को मतपत्र च्यातिएपछि बाँकी रहेको वडा नम्बर २० को समेत मतगणना हुन सकेको थिएन।