रुवाण्डाका राष्ट्रपति तेस्रोपटक विजयी

  • 5 अगस्ट 2017
जित तस्वीर कपीराइट AFP

रुवाण्डाका राष्ट्रपति पल कगामे ठूलो मतले तेस्रो कार्यकालका लागि विजयी भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ।

शुक्रवार आंशिक नतिजाले उनको पोल्टामा ९८ प्रतिशत मत खसेको देखाएको थियो।

सन् १९९४ को नरसंहारपछि कगामेले देशमा स्थिरता र आर्थिक विकास ल्याएको बताउने गरेका उनका समर्थकहरुले नतिजा घोषणासँगै खुसियाली मनाइरहेका छन्।

खासगरी विदेशमा बस्ने कगामेका आलोचकहरुले उनले डर देखाएर शासन गर्दै आएको बताउने गरेका छन्।

निरन्तरता

जितपछि कगामेले देशको आर्थिक वृद्धिलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

एउटा प्रत्यक्ष टेलिभिजन भाषणमा कगामेले भने, "रुवाण्डाका नागरिकलाई असर पार्ने विषयहरु हेर्नका निम्ति यो अर्को सात वर्ष हो।"

तस्वीर कपीराइट AFP/Getty Images

कगामेविरुद्ध डेमोक्र्याटिक ग्रीन पार्टीका फ्रांक हाबिनेजा र स्वतन्त्र उम्मेदवार फिलिप हायीमाना उठेका थिए।

अर्की एक अधिकारकर्मी तथा व्यापारीलाई चुनावमा उठ्न निर्वाचन आयोगले अयोग्य ठहर गरेको थियो।

समर्थन

आठवटा विपक्षी पार्टीले आफ्ना उम्मेदवार नउठाई राष्ट्रपति कगामेलाई समर्थन गरेका थिए।

यसअघि राष्ट्रपतिले चुनाव "एउटा औपचारिकता" मात्रै भएको बताएका थिए।

करिब ८ लाख आदिवासी तुत्सी र मध्यमार्गी हुटुको ज्यान लिएको नरसंहारलाई अन्त्य गराउँदै सन् १९९४ मा आफ्नो तुत्सी विद्रोही समूहले राजधानी किगालीमाथि कब्जा जमाएपछि ५९ वर्षीय कगामे सत्तामा पुगेका थिए।

तेस्रो कार्यकालका निम्ति कगामे उठ्न पाउने गरी गरिएको संविधान संशोधनलाई सन् २०१५ मा भएको जनमत संग्रहले अनुमोदन गरेको थियो।

अब उनी सन् २०३४ सम्म सत्तामा रहनसक्ने बताइएको छ।